२०८३ असोज २३ गते शुक्रबार

गोरखाबाट निर्वाचन लड्दा चितवन छाडेको रूपमा नअर्थ्याउन माओवादी अध्यक्ष प्रचण्डको आग्रह

गोरखाबाट निर्वाचन लड्दा चितवन छाडेको रूपमा नअर्थ्याउन माओवादी अध्यक्ष  प्रचण्डको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २६ गते शनिबार ०५:१७


विगतमा रोल्पा, काठमाडौं, सर्लाही र चितवन हुँदै अहिले गोरखा पुग्नुको पनि अर्थ भएको उल्लेख गर्दै उनले आफू जहाँ भए पनि चितवनको विकासमा निरन्तरता नै हुने बताए ।

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्दा चितवन छाडेको रूपमा नअर्थ्याउन आग्रह गरेका छन् ।

चितवनमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरखा जानुको अर्थ चितवन छाडेको भन्ने होइन ।’

विगतमा रोल्पा, काठमाडौं, सर्लाही र चितवन हुँदै अहिले गोरखा पुग्नुको पनि अर्थ भएको उल्लेख गर्दै उनले आफू जहाँ भए पनि चितवनको विकासमा निरन्तरता नै हुने बताए ।

आफ्नो घर चितवनमा नै रहेको स्मरण गराउँदै प्रचण्डले भने, ‘म गोरखा जानुको अर्थ चितवन छाडेको होइन । चितवन ३ क्षेत्रका जनताप्रति आभार । मलाई विजयी गरेर चितवनको विकास र समृद्धिको खाका कोर्ने अवसर दिनुभयो । यसमा मलाई गर्व छ । अहिले म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो । त्यसैले मेरो चासो, चिन्ता यहाँ हुन्छ नै । अहिले प्रधानमन्त्रीलाई साक्षी राखेर भन्न चाहन्छु यहाँको विकासका लागि भोलिपनि कुनै कसर बाँकी राख्ने छैन ।’

उनले गोरखाका जनताको ऋण तिर्नुपर्ने अवस्थाले पनि गठबन्धनमा छलफल गरेर नै त्यहाँ पुगेको बताए । गठबन्धन राजनीतिक दुर्घटनाको खतरा रहेसम्म कायम रहेको प्रचण्डले बताए ।

चितवन ३ का उम्मेदवारलाई आफ्नो उत्तराधिकारी बताउँदै उनले कसैको आँखामा राख्दा पनि नबिझाउने उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार ०५:१७
हजुरको प्रतिक्रिया