पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित नेकपा एमालेका भीमबहादुर कार्कीले प्रदेश सरकार गठनको विषयमा अहिल्यै आँकलन गर्नु छिटो हुने टिप्पणी गरेका छन् ।
सत्तारुढ गठबन्धन कायम रहेको अवस्थामा प्रदेशमा गठबन्धनको बहुमत पुगेर सरकार बन्ने अवस्था देखिए पनि उनले परिस्थिति फेरिन सक्ने दाबी गरे ।
निर्वाचन परिचालन कमिटी कास्की क्षेत्र नम्बर २ ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार बनाउन सबै सम्भावना खुल्ला रहेको बताए । अर्थात् राजनीतिक परिस्थिति फेरिन सक्ने उनको दाबी थियो । ‘गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत छैन । त्यसकारण सम्भावना सबै खुल्ला छन् । दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अहिलेको जनादेश हो,’ कार्कीले भने, ‘परिस्थिति जसरी आउँछ त्यसरी नै जाने छौँ । परिस्थितिको आँकलन अहिल्यै गर्दा छिटो हुन्छ कि भन्ने लाग्छ।’
चार दशक पार्टी संगठन निर्माणमा सक्रिय कार्की गत ४ मंसिरको चुनाव जितेर पहिलोपटक संसदीय राजनीतिमा सहभागी हुँदै छन् । पहिलोपटक भएकाले गण्डकी प्रदेश सभामा रहेर काम गर्ने विषयमा अनुभवी सांसदसँग आफूले छलफल गरिरहेको कार्कीले बताए।
प्रकाशित मिति २०७९ मंसिर २१ गते बुधबार ०१:०६




