पोखरा
संघीय शासन लागूपछि भएको दोस्रो संसदीय निर्वाचनबाट निर्वाचित गण्डकी प्रदेशका ज्येष्ठ सदस्यको सपथ आज हुने भएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई आज पूर्वान्ह ११ बजे सपथ गराउने कार्यक्रम छ । बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित सांसद हुन् । प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मीका अनुसार प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथको कार्यक्रम हुनेछ ।
ज्येष्ठ सदस्य बस्यालले भोलि पुस १४ गते गण्डकी प्रदेश सभाका अन्य सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउने कार्यतालिका छ । गण्डकी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिकबाट २४ सांसद गरी ६० सदस्य छन् । सभामा नेपाली कांग्रेस २७, नेकपा एमाले २२, नेकपा माओवादी ८, राप्रपा २ र एकीकृत समाजवादीका १ सांसद छन् । गण्डकी प्रदेश सभाको बैठक पुस १८ गतेलाई आह्वान भएको छ । संसद बैठक सुरु भएपछि गण्डकी प्रदेश सभामा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ०९:३३




