स्याङजा । सरकारले यसपटकको दशैँ घरघरमै मनाउन अनुरोध गरेको छ । काेराेना संक्रमणकाे बढदाे जाेखिमका कारण सरकारले दशैमा शहरबाट गाउँ नजान र जाे जहाँ छ त्यहीँ दशै मनाउने अनुराेध गरेकाे हाे ।
चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रवेश गर्ने र साे का कारण काेराेना समुदायस्तरमा अझ भयावह बन्नसक्ने भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आदेश जारी गर्दै उच्च जोखिम भएका स्थानहरुबाट जिल्ला प्रवेश गर्दा ७२ घण्टाभित्रको पिसिआर रिर्पोट साथमा हुनुपर्ने जनाएको छ ।

मंगलबारको सर्वपक्षीय बैठकले बुधबार राति १२ बजेबाट लागु हुने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ र संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम प्रशासनले साे आदेश जारी गरेको हो ।
कार्तिक १ गतेबाट रिर्पोट नहुनेहरु अनिवार्य तोकिएको क्वारेन्टाईनमा बस्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्धारा जारी आदेशमा भिडभाड तथा भेला नगर्नसमेत अनुरोध गरिएकाे छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस अहिले समुदायस्तरमा समेत फैलिसकेको अवस्थामा चाडपर्वका बेला थप जोखिम हुने भन्दै प्रशासनले विभिन्न कार्यहरु निषेध गरेको हाे ।
शैक्षिक संस्था, तालिम गोष्ठी, पार्टी प्यालेस, हाटबजार, सिनेमाहल, डान्सबार लगायतका मनोरञ्जन स्थल र सामुहिक रुपमा खेलिने खेलकुद, राजनितिक, सामाजिक तथा धार्मिक रुपमा गरिने भेला निषेध गरिएको छ ।
प्रकाशित मिति २०७७ असोज २९ गते बिहीबार ०७:४७




