पोखरा
लामा अमृत फाउन्डेशन घान्द्रुकले निर्माण गरेको घान्द्रुक (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरसटमा प्रदर्शन हुने लामा अमृत फाउन्डेसनका संस्थापक अमृत गुरुङले जानकारी दिए ।
‘घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख सहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रदर्शन भएको छ’, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई पहिलो पटक बेलायतमा प्रदर्शन गर्दैछौं,’ उनका अनुसार बेलायतपछि हङकङ, जापान लगायतका देशहरुमा प्रदर्शन गर्ने तयारी छ ।
लामा अमृत फाउन्डेसन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिंगारिएको छ भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।
वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।
प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार १०:१५




