पोखरा
गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा आज सभामुखको निर्वाचन हुनेछ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
माओवादीबाट सभामुख र एमालेबाट उपसभामुख बनाउने पक्कापक्की सत्ता गठबन्धनले गरेको छ । सोही अनुरुप सत्ता गठबन्धनबाट सभामुखका लागि माओवादीका कृष्ण धिताल उम्मेदवार हुनेछन् । । सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । धिताल निर्वाचित हुने निश्चित जस्तै छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन । नेपाली काग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा सभामुखको उम्मेदवार बन्नलाई कोही इच्छुक नदेखिएपछि संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई उम्मेदवार चयन गर्ने जिम्मा दिएको थियो । अझैसम्म कसलाई सभामुखको उम्मेदवार बनाउने टुंगो नलागेको पाण्डेले बताए । ‘उम्मेदवार कसलाई बनाउने अब टुंगिदैछ’, उनले भने ।
प्रदेश सभा सचिवालयले प्रकाशित गरेको सभामुख निर्वाचनको तालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदेश सभाको कुनै सदस्यले प्रदेश सभाको कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्नुपर्नेछ ।
दिउँसो साढे १ बजे निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सूची प्रकाशन हुनेछ ।
दिउँसो ३ बजे प्रदेश सभा नियमावली, २०७४ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । पहिलो प्रस्तावले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत हुनेछैन । एक मात्र प्रस्ताव दर्ता भएमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने सूचनामा उल्लेख छ ।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाले सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । दोस्रो बैठक शुक्रबार बसेको थियो । शुक्रबारको बैठकले सभामुख र उपसभामुख निर्वाचनको मिति तोकेको हो ।
उपसभामुखको निर्वाचन माघ २ गते गर्ने निर्णय गरिएको छ । उपसभामुख गठबन्धनको भागबन्डामा एमालेलाई परेको छ । एमालेबाट पद्मा जिसी र देवका पहारीको उपसभामुखमा चर्चा छ । पद्मा नवलपुर २ (क) बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । कास्कीकी देवका समानुपातिक कोटाबाट सांसद भएकी हुन् ।
शुक्रबारको बैठकमा एमालेबाट मुख्यमन्त्री बनेको खगराज अधिकारीले विश्वासको मत लिएका छन् । उनलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदले विश्वासको मत दिए । मुख्यमन्त्री बन्नलाई समर्थन गरेको स्वतन्त्र निर्वाचित भइ एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) विश्वासको मत दिनलाई उपस्थित भएनन् । नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भई एकीकृृत समाजवादी प्रवेश गरेका १ सदस्य छन् ।
प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार ०८:५९




