२०८३ कात्तिक ११ गते मंगलबार

के ७२ वटै यात्रुको शव भेटिएको हो ?

के ७२ वटै यात्रुको शव भेटिएको हो ?

विकास मगर

@Bikashh1997

२०७९ माघ ४ गते बुधबार ०६:३५

मंगलबार साँझ फेला परेकामध्ये एकजनाको हवाइ दुर्घटनाकै यात्रु हो वा होइन भन्ने नखुलेको र अर्कोको शरीरको केही भागमात्रै भएकाले पछिल्ला २ शवलाई हाल गणनामा नराखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शव नम्बर ‘७१, ७२’: पुष्टि हुन बाँकी, डिएनए रिपोर्टको पर्खाइ

पोखरा
यती एअरलाइन्सको आइतबार पोखरामा भएको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । अझै २ जनाको अवस्था अज्ञात छ ।

तर, उद्धारमा खटिएका उद्धार टाेली स्राेत अज्ञात अवस्थामा रहेका २ जनाको शव फेला परिसेकेकाे बताउँछन् । जस्काे पुष्टि हुन बाँकी छ ।

मंगलबार साँझ फेला परेकामध्ये एकजनाको हवाइ दुर्घटनाकै यात्रु हो वा होइन भन्ने नखुलेको र अर्कोको शरीरको केही भागमात्रै भएकाले पछिल्ला २ शवलाई हाल गणनामा नराखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दुर्घटना भएको पहिलो दिन आइतबार ६३, सोमबार ७ शव र मंगलबार एक जनाको शव फेला परेको हो । मंगलबार साँझको समयमा घटनास्थलभन्दा करिब ७ सय मिटर तल सेती खोंचमा शव फेला परेको थियो । उक्त शव हवाइ दुर्घटनाको हो या होइन अझै पुष्टि हुन सकेको छैन ।

‘घटनास्थलबाट केही टाढा शव भेटिएको हो । शरीर जलेको छैन । तर, शरीरका भागहरु भाँच्चिएका भने छन्,’ उद्धार टोली स्रोतले भन्यो, ‘यो बडी यहाँबाट उछिट्टिएको हो कि अर्र्र्कै केस हो, पुष्टि हुन बाँकी छ ।’

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पछिल्लो पटक भेटिएको उक्त शव डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ । ‘डिएनए रिपोर्ट आइसकेपछिमात्रै उक्त शव जहाज दुर्घटनासँग सम्बन्धित हो या होइन बल्ल पुष्टि हुन्छ,’ उनले भने, ‘पुष्टि नहुँदासम्म आधिकारिक संख्या ७० नै हो ।’

उद्धारमा खटिएका सशस्त्र प्रहरीका एकजना सुरक्षाकर्मीका अनुसार मंगलबार साँझ नै अर्को शवको पनि शरीरका केही अंग फेला परेको छ । पूरा जलिसकेको अवस्थामा खुट्टाको केही भाग र टाउकोको हड्डी फेला परेको छ । त्यसलाई हाल पूरा शरीर नमानेर ‘बडी नम्बर’मात्रै राखिएको उनले बताए ।

‘साँझको समयमा खुट्टाको केही भाग (दायाँ खुट्टाजस्तो देखिने) र कलेजाजस्तो बडीको पार्ट भेटिएको छ,’ ती उद्धारकर्ताले भने, ‘त्यो बडी पार्ट पनि डिएनए परीक्षणका लागि पठाइसकेका छौं । रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ ।’

उद्धारमा संलग्न सुरक्षाकर्मीले २ वटा अपुष्ट शव फेला परे पनि आफूहरुले खोजतलास भने निरन्तर राखिरहेको जानकारी दिएका छन् । ‘सग्लो शरीर फेला नपरेपछि अब हामी डिएनए टेस्टकै पर्खाइमा छौं । तर, अन्य केही खुल्छ कि भनेर निरन्तर अनुसन्धानमै छौं,’ प्रहरी स्रोतले भन्यो ।

पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा आइतबार ६८ जना यात्रु र ४ जना चालक दलसहित ७२ जना सवार यती एअरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनास्थल निकै जोखिम ठाउँमा भएकाले उद्धारमा समस्या भएको उद्धारमा संलग्न सुरक्षाकर्मीले बताएका छन् ।

सेतीको साँघुरो र अप्ठेरो खोंचमा दुर्घटना भएकाले उद्धारमा सकस परेको थियो । उद्धारकर्तासमेत जान सहज नभएकाले गोताखोर र ड्रोनको प्रयोग गरिएको थियो । सोमबारदेखि अज्ञात अवस्थामा रहेका यात्रु खोज्न ४ वटा ड्रोन प्रयोग गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ ।

उद्धार सहजताका लागि मंगबारदेखि सेती खोलाको पानीको मात्रासमेत घटाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार सेती नदीको पानीलाई याम्दीको पुलबाट सिंचाइका लागि बनाइएको नहरमा हालिएको छ ।

अध्ययन टोली घटनास्थलमा

घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली र नेपाल सरकारले बनाएको दुर्घटना जाँच आयोगले बुधबारबाटै काम सुरु गरेका छन् । उनीहरुले प्रारम्भिक चरणको अनुसन्धान सुरु गरिसकेका छन् ।

फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएकाले पनि विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि अध्ययन सुरु गरिसकेको छ ।

जहाजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले रिपोर्ट कहिलेसम्म आउने भन्न नसकिने उक्त आयोगका एक सदस्यले पब्लिक टिभीलाई बताए ।

‘भर्खर जाँच सुरु भएको छ । सबै चिज मिहिन ढंगले अध्ययन गर्नुपर्छ । त्यसमाथि सुरुमा ब्ल्याक बक्सको रिपोर्ट नआई केही भन्न सकिँदैन,’ आयोगका एक सदस्यले भने, ‘फाइनल रिपोर्ट आउन अझै केही समय लाग्छ । निश्चित छैन ।’

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् ।

आयोगको सदस्यमा हवाई मर्मत विज्ञ एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

प्रकाशित मिति २०७९ माघ ४ गते बुधबार ०६:३५
हजुरको प्रतिक्रिया