पोखरा
पोखरा महानगरको मुख्य सहरी क्षेत्रमा माघ २३ गतेदेखि सडक पार्किङ गर्ने भएको छ । महानगर यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो ।
महानगरले सोमबार नै एक सूचना जारी गरी पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक खण्डका सडकमा २३ गतेदेखि पार्किङ नगर्न आग्रह गरेको छ । सूचनामा तोकिएका सडकखण्डमा अत्याधिक सवारी चाप हुँदा आवागमनमा समस्या भएको र सहरी सौन्दर्यमा समेत असर गरेको उल्लेख छ ।
‘…उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्ण रुपमा पार्किङ निषेध गरिएको हुँदा तोकिएको क्षेत्रहरुमा पार्किङ व्यवस्थापन गर्नुहुन सम्पूर्ण सरोकारवाला निकायमा यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।’
महानगरले न्युरोड र नयाँ बजार क्षेत्रमा ‘केही व्यक्तिका खाली जग्गा’ भएको र त्यसैमा पार्किङ गर्ने बताएको छ ।
‘न्युरोड र नयाँ बजार क्षेत्रमा केही व्यक्ति खाली जग्गा छन् । तिनै जग्गामा हाललाई पार्किङ व्यवस्थापन गर्ने भन्ने भएको छ,’ महानगरका प्रवक्ता तथा पोखरा महानगर २५ का वडाध्यक्ष मोति तिमिल्सिना भन्छन्, ‘यसबारे केही जग्गाधनीसँग छलफल भइसकेको छ । महानगरले तोकेको मूल्यमा उहाँहरुले पार्किङ गर्न दिने सहमति भएको छ ।’
साथै विकल्पका रुपमा महानगरले खाली गराएका अन्डरग्राउन्ड भवनमा पनि सशुल्क पार्किङ गर्न सक्ने विकल्प अघि सारेको छ । ‘अहिले फेरि ती के भइराखेको छ भनेर फेरि फलोअप गर्ने त्यसलाई खाली गर्न लगाउने अनि पार्किङ गर्न लाउने भन्ने छ,’ महानगरका प्रवक्ता तिमिल्सिनाले भने ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती अहिलेको सवारी चापले पार्किङ समस्या समाधान नहुने तर, छिट्टै महानगरले केही नयाँ ठाउँ तोक्ने जानकारी दिए ।
निजी जग्गा भएकाले पार्किङवापतको शुल्क महानगरलाई तिर्नुनपर्ने भारतीले जानकारी दिए । ‘किनकी त्यो उहाँहरुकै व्यक्तिगत जग्गा हो । तर, उहाँहरुले महानगरले तोकिदिएको मापदण्डमा चाहिँ शुल्क उठाउनुपर्छ,’ उनले भने ।
यसअघि महानगरले सडकनै पार्किङका लागि ठेक्का दिँदै आएको थियो । महानगरले पुस ८ गतेदेखि सडक पार्किङ शुल्क उठाउँदै आएको फेवा सावित्री जेभीसँगको ठेक्का तोडेको थियो । महानगरले ०७७ साल उक्त ठेकेदार कम्पनीसँग २ वर्ष (मंसिर २७ गतेसम्म)का लागि सडक पार्किङ ठेक्का सम्झौता गरेको थियो ।
तर, निवर्तमान मेयर मानबहादुर जिसीले जाँदाजाँदै सुटुक्क पुनः ४ महिनाका लागि सम्झौता थप गरेको लामो समयपछि खुलेको थियो । सोही सम्झौता पुसमा महानगरले तोडेको थियो ।
प्रकाशित मिति २०७९ माघ १६ गते सोमबार ०८:१५




