पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको दसौं बैठक आज दिउँसो एक बजे बस्दै छ । नदीपुरस्थित प्रदेश सभा भवनमा आज बस्ने बैठकमा ‘केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
यो विधेयक आन्तरिक मामिला तथा कानून मन्त्री रोशनबहादुर गाहा थापाले गत शुक्रबारको बैठकमा प्रस्तुत गरेका थिए । संसदमा आज सामान्य छलफल गर्न लागिएको यो विधेयकमा ३४ वटा ऐन समेटिएका छन् । छुट्टाछुट्टै संशोधन गर्न झन्झटिलो हुने भएपछि प्रदेश सरकारले यसअघि बनेका ३४ वटा ऐन एकमुष्ट संशोधन गर्न लागेको हो । यसरी संशोधन गर्न लागिएका ऐनमा अधिकांश भाषिक संशोधन छन् । अधिकांश ऐनमा प्रदेश शब्द भएकाले त्यसलाई हटाएर गण्डकी शब्द राख्न लागिएको हो ।
यो विधेयकमार्फत संशोधन गर्न लागिएका ऐनमा प्रदेश सभा सचिवालय ऐन, २०७७ पनि समेटिएको छ । त्यसमा उमेर हदको व्यवस्था संशोधन हुनेछ । उक्त ऐनको दफा १० (ग)मा रहेको प्रदेश सभा सचिवको उमेर हदलाई ६५ वर्ष बनाइएको छ । हाल उमेर हद ६० वर्ष छ ।
हालका प्रदेश सभा सचिव हरिराज पोखरेलको जोडबलमा यो ऐन संशोधन गर्न लागिएको हो । पाँच वर्षे कार्यकाल अर्थात् २०८२ सालसम्म पूरा गर्न नपाउने भएपछि उनी ऐन संशोधन गरेर उमेर हद बढाउन कस्सिएका थिए । उनकै इच्छाअनुसार उमेर हद संशोधन गरेर संसदसम्म पुर्याइएको हो ।
यसअघिको कांग्रेस नेतृत्वकै सरकारको पालामा यो ऐन संशोधनका लागि संसद सचिवालयमा दर्ता भएको थियो । अधिवेशन सकिएपछि त्यो स्वतः निष्क्रिय भयो । अहिलेको सरकारले त्यसैलाई निरन्तरता दिँदै उमेर हद संशोधन गर्ने गरी ऐन संसदमा लगेको हो ।
प्रकाशित मिति २०७९ माघ २९ गते आइतबार ११:५२




