२०८३ साउन २१ गते बिहीबार

प्यारालाइसिस भएकी आमालाई छोराबुहारीले कुटपिट गरेर जलाएपछि…

प्यारालाइसिस भएकी आमालाई छोराबुहारीले कुटपिट गरेर जलाएपछि…

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १ गते सोमबार ०७:२२

छोराबुहारीसँग पहिल्यैदेखि सम्बन्धमा खटपट भइरहने कारण नजिकै रहेको छोरीको घरमा बस्दै आएकी उनी पछिल्लो १०, ११ दिनदेखि छोराको घरमा बस्दै आएकी थिइन् ।

पोखरा
मान्छे कतिसम्म क्रुर र निर्दयी बन्दैछ ? तनहुँको बन्दीपुरमा सोमबार घटेको एक घटनाले प्रष्ट पार्छ । बन्दीपुर गाउँपालिका–३, शेराटारमा सोमबार एकाबिहानै आफ्नै आमालाई छोराबुहारीले कुटपिट गरी मारेर आगोमा जलाइदिएका छन् ।

सोमबार बिहान उज्यालो नहुँदै राजकुमार सार्कीको गाई गोठमा आगो लाग्यो । गाई गोठमा आगो लाग्दा गाईसँगै राजकुमारकी ८४ वर्षीया आमा माया सर्किनीको जलेर मृत्यु भयो । स्थानीय जनप्रतिनिधिले गाई गोठमा आगो लागेर गाईसहित एकजनाको मृत्यु भएको खबर इलाका प्रहरी कार्यालय बन्दिपुरमा गरे ।

जानकारी दिने जनप्रतिनिधिले प्रहरीलाई भने, ‘घटना शंकास्पद छ । केही न केही हुन सक्छ ।’

जलेर मृत्युवरण गरेकी सर्किनीको अनुहारमा चोटपटक लागेको कारण घटना शंकास्पद थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बन्दीपुरले जिल्ला प्रहरी कार्यालय तनहुँलाई खबर ग¥यो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्टसहितको अनुुसन्धान टोली घटनास्थलमा खटियो । प्रारम्भिक अनुसन्धान गर्दा आफ्नै ४७ वर्षीय छोरा राजकुमार सार्की र बुहारी ३५ वर्षीयासुशिला मजाकोटीले कुटपिट गरेर हत्या गरी जलाएको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानमा छोराबुहारीले कर्तव्य गरी मारेको खुलेपछि दुवैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुुर खाँणले बताए ।

मृतक माया प्यारालाइसिसको बिरामी रहेको खाँणले बताए । ‘प्यारालाइसिसको बिरामी भएकाले छोराबुहारीले आमालाई नरुचाउने रहेछन्’, उनले भने । छोराबुहारीसँग पहिल्यैदेखि सम्बन्धमा खटपट भइरहने कारण नजिकै रहेको छोरीको घरमा बस्दै आएकी उनी पछिल्लो १०, ११ दिनदेखि छोराको घरमा बस्दै आएकी थिइन् ।

दुई छोरमध्ये एक छोराको यसअगाडि नै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । आमालाई मारेका छोराबुहारी फरार भएनन् । प्रहरीले दुवैलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति २०७९ फागुन १ गते सोमबार ०७:२२
हजुरको प्रतिक्रिया