आइतबारको दिन बिहान १० बजेअगाडि स्कुल छेउको पसलले मलाई तान्थ्यो । तान्ने एउटै कारण थियो–साप्ताहिक पत्रिका । पाना पल्टाएर पढ्न त ६ रुपैयाँ लाग्थ्यो ।
गोजीमा पैसा नहुँदा भने बाहिरी पान्नो पूरापुर पढ्न ५ मिनेट पनि लाग्दैनथ्यो । कहिलेकाहीं साहुनीको आँखा छल्न भ्याए अन्तिमको पानो पनि पढेर सक्न बेर लाग्दैनथ्यो ।
गोजीमा ५ रुपैयाँको नोट र १ रुपैयाँको सिक्का वा नोट भएको बखत भने छाती चौडा पारेर पहिला सोकेसको सतहमा ट्याक्क आवाज परेर ‘साहुजी मलाई त्यो साप्ताहिक दिनु त’ भन्दा संसारै जिते जस्तो हुन्थ्यो ।
स्कुलमा सरको आँखा छलेर ब्लो अप र ७ नम्बर पेजमा आउने फिल्मको खबर सिनित्त थालिहाल्थ्यौं ।
सहरभन्दा परको हाम्रो गाउँको मुख्य बजार भनेकै स्कुल वरपरका पसलहरू थिए । ती पसलवाला साहुजीहरूका आ–आफ्नै खच्चडहरू बिहान ४ बजे नै दुलेगौंडा हिँड्थे ।
बेलुका ४ बजेतिर दुईतिर पिँठ्युमा भारी बोकेर पसिना चुहाउँदै, ठूलाठूला घण्टी बजाउँदै र धूलो उडाउँदै फर्किन्थे । मलाई खच्चडको पसिनाको गन्ध पटकै मन पर्थेन । त्यसैले खच्चड देख्यो कि नाक थुन्न मन लागिहाल्थ्यो ।
उसो त अहिले मेरो पसिनाको गन्ध मेरी श्रीमतीलाई मन पर्दैन ।
त्यसैले एकाध वर्षमा घर पुग्दा पनि मेरो पसिनाको गन्ध ह्वास्स आउँछ भनेर नजिक पर्न गाह्रो मान्छिन् । त्यसैले पनि घर जाने बेलामा दुई चारवटा वटा परफ्युम लगेजमा राख्न भुल्दिनँ ।
माघको अन्तिमतिर आउने साप्ताहिक पत्रिका मेरा लागि खास हुन्थ्यो । किनकी आगामी भ्यालेन्टाइन डे को लागि ‘तिम्रो काले, तिम्री रानी, तिम्रो एसएम’ आदि नामका लेखकले लेखेका प्रेमिल सन्देश अनि सायरीहरू हुुन्थ्यो ।
पाठ्यपुस्तकका कुनै कविता याद नगर्ने मैले ती सायरीहरू भने एकै पटकमा कण्ठस्त पार्न सक्थेँ । आफ्नो यो खुबी अरु कसैसँग नभएकोमा मनमनै गौरवान्वित पनि हुन्थें ।
गाउँको एकमात्र माध्यामिक विद्यालय भएको कारण पनि हाम्रो स्कुलमा ८ पछि प्रायः नयाँ विद्यार्थी आउँथे । पल्लो गाउँको निमावि बाट १० जना ८ मा भर्ना हुन आए । त्यसमा थिए, ३ जना केटीहरू । विनिता शर्मा, भीमसरा थापा र सुनमाया आले ।
विनिता फस्ट र सुनमाया थर्ड हुन् रे ! विनिता शर्माको बाउ त त्यै निमावि को हेडसर हो रे ! अनि सुनमायाको बाउ आर्मीको क्याप्टेन ! यस्ता रे धेरैका धेरै सुनिए ।
कक्षा नियमित सुरू भयो, कक्षाका २ जना केटीको बिहे भयो अनि स्कुल छाडे । शेरे कमाउन इन्डियातिर गयो । शिवे पण्डित पढ्ने भनेर देउघाट गयो । होमेलाई उसका बाले पल्टनमै पढाउने भनेर लगे ।
स्कुल जानेको संख्या घट्दै गयो । हामी भने आउनेजाने गरिरह्यौं ।
८ कक्षाको अर्धवार्षिक परीक्षापछि नै मलाई अलि फरक अनुभूति हुन थाल्यो । विनिता हाँसेको, उसले साथीहरूसँग कुरा गरेको, सरले प्रश्न सोध्दा जवाफ दिएको सबै कुरा राम्रो लाग्थ्यो । पहिला झ्यालपट्टि बस्ने म केटाहरू बस्ने लाइनको फस्टतिर बस्न थाले ।
चौथो बेन्चबाट पहिलो बेन्चमा बस्ने विनिताको ढाडपट्टिको भाग देखिन्थ्यो । कहिलेकाहीं उसँग आँखा जुधे रातोपीरो हुन्थें । केटा र केटी खासै बोल्ने गरिन्थेन । झन् विनितासँग त म कत्ति पनि बोलेको थिइनँ । अरूसँग पनि काम नपरी दोहोरो कुराकानी त कमै हुन्थ्यो ।
धेरैजसो केटाहरू सुनमायाको खुब तारिफ गर्थे । मलाई थेप्चो नाक र चिम्सा आँखा हुनेहरू मन पर्थेन । ‘हामी बाहुन, ठूलो जात र मगर सानो जात हुन्’ भन्ने समाजले नै सिकाएको थियो ।
त्यै भएर नै होला, सुनमायाभन्दा बिनिताकै तारिफ सुन्न मन परेको !
‘८ कक्षाको जिल्ला स्तरीय परीक्षामा त सुनमाया फस्ट भइछ,’ रिजल्ट हेर्न गएको रामेले बाटोबाटै करायो ।
फेल हुन्छु कि भन्ने डरले मलाई रिजल्ट हेर्न जान कहिल्यै जाँगर लागेन । ‘हाम्रो स्कुलको फस्ट ब्वाई थर्ड भएछ । उसलाई त पहिलाको थर्ड ब्वाइले जितेछ ।’
मलाई भने विनिता फस्ट भइदिएको भए हुन्थ्यो भन्ने लागेको थियो तर ऊ त पाँचौं भइछ । मन खिन्न भो ।
म पनि गणित विषय लाएर पास भएछु । २ विषयसम्म लागेकाहरूलाई पास गर्ने चलन थियो । अब त ९ कक्षा पढ्ने भइयो । ४० जनामा अब २५ जना मात्रै ९ कक्षा पढ्ने भयौं । ९ कक्षामा अलि जान्ने विद्यार्थीले ‘अप्सनल’ लिएर पढ्नुपर्छ भन्थे ।
म त अर्थशास्त्र पढ्नेमा परें । सुनमाया, विनिता, हाम्रो स्कुलको फस्ट ब्वाई र अरू चार जनाले अप्सनल पढ्ने रे !
ऐच्छिक गणितलाई मात्रै ‘अप्सनल’ भन्ने चलन थियो ।
माघे संक्रान्तिमा केलादीघाट नुहाउन जाने चलन छ । पूरा दिन हिँडेर केलादीघाट पुगिने र नुहाए धर्म हुने विश्वास मानेर सक्ने जति जाने भए । रामपुर गएर खुदो ल्याउने र यो वर्ष मेरो व्रतबन्ध गर्ने भनेर आमासँग म पनि जाने भएँ ।
हाम्रो गाउँ कटेपछि मगर गाउँ हुँदै जानुपथ्र्यो । हिउँदको पारिलो घाम र कोदो काटेपछिको बारी मा चर्दै गरेका सुँगुरहरूसँग तर्सिंदै तिनलाई गाली गर्दै हामी धर्म गर्न केलादी जाँदै थियौ ।
एउटा बार्दलीवाला सिमेन्टी लाएको घर अगाडि म टक्क रोकिएँ ।
हाम्रो कक्षाकी फस्ट गर्ल सुनमाया भर्खर नुहाएर आफ्नो लामो कपाल सुकाउँदै थिइन् । बाटोमा हिँडेका मान्छेतिर हेर्दै गर्दा मसँग आँखा जुधेपछि हत्तपत्त आफ्नो आँगनबाट हामी भएको बाटोतिर आउँदै भनिन्, ‘ओहो सुनिल कता हिँडेको ?’
कक्षाको साथी भएपनि स्कुलमा कहिल्यै नबोलेको म के गरौ ? के गरौं ? भएँ ।
अनि विनम्रताबिनै ‘केलादीतिर हिँडेको’ भन्दिएँ ।
आँगनबाट एकजना महिलाको आवाज आयो, ‘इसे सु बौचा आले ?’
‘कानुङ स्कुलाङ पढिस्च बौचा ङौ लाफा आले ।’
‘कुलाक नुके राच लेउसा ?’
केलादी जाने रे !
अनि छो ज्यानाँखी नुना ड्यो न ।
‘बस, भात खाएर जाउला’
जिन्दगीमा पहिलोपटक मलाई आफ्ना नातेदारबाहेक कसैले ‘भात खाएर जाउँला’ भनेको थियो । त्यो पनि बाटोमा भेट्नेबित्तिकै ।
मलाई सुनमायाको विनम्रता सहितको आग्रहले खास प्रभाव परेन । न त आमालाई कुनै शिष्टाचार प्रयोग गरेँ ।
बरु हामीलाई ढिलो हुने बताएर त्यहाँबाट हिँडे ।
गामभरिका मान्छेहरू मलाई कुर्दै थिए । त्यतिबेला नै एउटा सुँगुरको पाठो मेरो छेउबाट च्याँ च्याँ कराउँदै आयो म तर्सेर भागें । म तर्सेको देखेर सुनमाया हाँस्दै फर्किंदा ‘पस है !’ भन्दै घरतिर लागिन् ।
‘हाम्रो कक्षाकी केटी हो, बाउ क्याप्टेन हो अरे, घर यही रहेछ, पढ्न जान्नी छ, फस्ट हुन्छे । मैले त देखेको नदेख्यै गरेको थिएँ । उसैले बोलाएकी हो, भेटेर बोलाएपछि नबोली हिँड्दा फेरि के भन्ली भनेर बोलेको हुँ’, भेटेपछि गाउँलेहरूलाई स्पष्टिकरण दिए ।
म पढ्न जान्ने पनि हैन, लाहुरे हुने जस्तो ज्यान पनि छैन । फेरि चिम्सा आँखा र थेप्चो नाक कहिल्यै सम्झिन मन नलाग्ने । तर, गाउँलेहरू घरीघरी आमालाई ‘लौ ! छोराले त मगर्नी ल्याउने भयो’ भन्दै जिस्काउन थाले । केलादी पुग्ने बाटो काट्ने मेसो भयो । म मुर्मुरिँदै कसैसँग पनि राम्ररी बोलिनँ ।
अझ त्यो बाटो कसरी पो फर्किने भन्ने अर्को पीर पर्न थाल्यो ।
जानेबेलामा जस्तो उहाँ पुगेपछि र फर्किने बेलामा भने मलाई जिस्क्याउन कम भयो अर्को खुशीको कुरा हामी सुनमायाको गाउँतिरको बाटो नगएर अर्कै बाटो फर्किने भयौँ ।
‘केलादी जानेबेला बचेको पैसाले यसपालिको भ्यालेन्टाइन डे मा २÷३ वटा पोस्टकार्ड र साप्ताहिक किन्छु । राम्रा राम्रा सायरी लेखेर विनितालाई प्रपोज हान्छु’, मनमनै अठोट थियो ।
मेरो यो कुरा सुनिदिने साथी रामे मात्रै त थियो । ‘हान् भाइ हान् के पर्छ र ? बाहुनी हो ल्याम्न परे ल्याम्ला’, उसले जोस्यायो, ‘जात मिल्नेसँग के को डर ?’
‘लभ गर्दा पनि जात त हेर्नैपर्यो, तर पर्पोज कसरी पो गर्ने हो?’ जिज्ञासा राखें ।
‘फेरि पर्पोज गरेको कुरा सरलाई भन्दिई भने ?’ शंका व्यक्त गरेँ, ‘त्यसो हो भने त नाकै काटिन्छ यार ।’
‘अझ थप्पड लगाई भने क्यार्छस् ?’ मेरो डरको आगोमा उसले घ्यू थप्यो ।
‘पहिला चिठी लेख् न, भ्यालेन्टाइन डे को दिन त केही हुँदैन । एस अर नो मात्रै हुन्छ अनि कुरो सकिइहाल्छ’, उस्ले भन्यो ।
२ भाइको सल्लाह यस्तै भयो । बरु को मार्फत पत्र पठाउने ?
उपाय निस्कियो । सुनमाया जिन्दावाद, म ढुक्क भएँ ।
साप्ताहिकका दुई चारवटा सायरीहरू उल्लेख गरेर कापीको बिचको पानामा तीन पेज लामो चिठी लेखेँ । अर्को पान्नोको खाम बनाएँ । अनि रातो कलमले लेख्यो भने राम्रो हुन्न भनेर निलै कलमले मुटु र त्यसलाई तीरले हानेको चित्र बनाएँ ।
सोचें, ‘आज पर्पोज हान्छु ।’भ्यालेन्टाइन डेको हाफ छुट्टीमा हाम्रो कक्षाको केटी र १० कक्षाको केटा भागे अरे भन्ने हल्ला भयो । लास्ट पिरियडको सरको परीक्षा छ भनेर नआउने भन्ने भएपछि छैठौँ कक्षापछि बिदा भयो ।
घर फर्किने बेलामा चिठी दिने भन्ने सम्झिँदा भने एकपटक मुटु चिसो भयो ।
‘तैपनि दिनु नै छ’, अर्को तिर ढाडस दिने आफ्नै मन छँदैथ्यो ।
उनीहरूको गाउँ र हाम्रो गाउँतिर छुट्टिने बाटो सम्म विनिता, सुनमाया र भीमसरा अगाडि अगाडि म र रामे पछाडि पछाडि हुँदै गयौँ । उनीहरू आफ्नै तालमा हामी आफ्नै तालमा ।
छुट्टिने बेलामा विनिताले रामेलाई बोलाइन् । ऊ अघि गयो, म अलि पछाडिबाट उनीहरूले नदेख्नेगरी हेर्दै बसेँ । विनिताले रामेलाई कानमा केही भनेजस्तो गरेर कापीको बिचबाट एउटा खाम झिकेर दिइन् । त्यसबखत सुनमाया र भिमसरा अलि अगाडि बढिसकेका थिए ।
तर सुनमाया केही बिचार गरेजस्तो गरि पछाडि हेर्दैँ थिई ।
रामेको मुहार हँसिलो भएको थियो ऊ मुसुमुसु हाँस्दै हाम्रो गाउँतिर जाने बाटोपट्टि आयो जहाँ म खिन्न परेर बसिरहेको थिएँ । उसले विनितालाई मेरो चिठी देला भनेको त उल्टै उसलाई बोलाएर विनिताले पो खाम दिई ।
रामे आएर मलाई खाम तेर्स्यायो ।
‘तेरो चिठी तैँ पढ्’, भनेर म उता फर्किएँ ।
‘हैन, तेरो लागि हो’, उसको मुखबाट यो शब्द फुत्किन साथ हातबाट चिठी फुत्क्यो । चिठी लिएर म बेतोडले दौडिएँ । स्याँस्याँ र फ्याँफ्याँ गर्दै अलि पर पुगेपछि एकान्तमा चिठी खोल्न मन लाग्यो ।
मुटुको ढुकढुकी बढ्यो, अझ अघिको दौडले कम गराएकै थिएन ।
मैले लेखेको चिठी देखाउँदै रामे परैबाट ‘यो चिठी क्यारम् ?’ भनेर सोध्यो ।
‘अब उतैबाट आएपछि त्यसको के काम ? फ्याँक्दे !’ म रवाफिलो स्वरमा चिच्याँए ।
वरपर हेरेँ ! पऽरसम्म रामे बाहेक कोही देखिएन ।
खाम खोलेँ, दिलिप रायमाझीको तस्विर भएको पोस्ट कार्ड को पछाडि निकै सफा अक्षरले लेखिएको थियो सायरी,
‘रोपेको छु गुलाब काँडा नबन
सम्झेको छु आफ्नै टाढा नबन…’
यो भन्दा दामी दामी शायरी मलाई कण्ठै थियो । त्यै भएर पनि सायरीले मेरो ध्यान खिचेन । तर, विनिताको पत्र थियो !
त्यसै मन प¥यो । पोस्टकार्ड खुसुक्क स्विटरभित्रबाट सर्टको गोजीमा राखें ।
चिठी एक पन्नाको मात्रै थियो ।
प्रिय सुनिल,
तिमीलाई सम्बोधन गर्ने कुनै पनि शब्दहरू यो संसारमा भेटेन, स्कुलका हरेक क्षणहरू म तिम्रो उपस्थिति खोजीरहेको हुन्छु । स्कुलका प्रत्येक क्रियाकलापहरूसँग तिम्रो याद गाँसेको हुन्छ । यो जीवन फूलबारी जस्तै भए म तिम्रो लागि फूलेको गुलाब बन्न चाहन्छु । हरेक क्षण हरेक पल यो मनमा चलेको आँधी निभाउने शीतल छहारी तिमी बन्नेछौं भन्ने अपेक्षा राख्छु ।
यति पढ्दासम्म म विनिताका अक्षर हुन् र ? भन्ने लाग्य्या थ्यो, अब त यो पत्र विनिताको हैन भन्ने पक्कापक्की भो । तर, उसले दिएको पत्रको सम्बोधन त मलाई नै थियो आखिर लेख्यो कसले ?
माघेसंक्रान्ति बेला तिमीलाई अचानक हाम्रो गाउँमा देख्दा म अचम्म परेँ । यसरी हाम्रो घरको बाटो आफ्नो मनले खाएको मान्छे हिँड्ला घरमा उसलाई चिनाउन पाउँला भन्ने पनि लागेको थिएन । तिमी फर्किन्छौ कि भनेर बाटो हेरिरहेँ, बेलुका अबेला सम्म फर्केनौ ।
संक्रान्तिको सेल र बारा राखेकी थिएँ । वाक्से त तिमी खाँदैनौ । तिमीलाई कोसेली दिनुपर्ला भनेर तर पाएन । त्यतिबेला तिमीहरू सुँगुरसित डराएको देख्दा पो मलाई रमाइलो लागेको थियो । पछि थाहा पाएँ सुँगुर छोए त तिमीहरूको जातै जान्छ रे ! हाम्रो बाबा यस्ता अनेक कुरा गर्नुहुन्छ ।
सबै जात एकै भएको र जातकै कारण कोही ठूलोसानो नभएको कुरा भन्नुहुन्छ । हाम्रो किताबमा पनि त्यस्तै त छ नि हैन र ?
तर, मान्छेहरू कहाँ यो कुरा मान्छ र त्यसैले यो सबैकुरा मनाउन क्रान्ति आवश्यक छ । तिमी पनि यससँग सहमत हुन्छौ नि हैन र ?
यसै त यो विनिताको नभएपछि खास भाउ नदेको चिठीमा सुनमाया र क्रान्तिको कुरा आएपछि त पढ्नुको कुनै तुक रहेन । तर, आँखा हटाइहाल्न पनि सकिन न त चिठी फ्याक्न नै सकेँ ।
तिमीले साप्ताहिक पढेको, भ्यालेन्टाइन डे लगायत अन्तराष्ट्रिय चासोको बारेमा पढेको मैले देखेको छु । अरू साथीहरूसँग कुरा गरेको कारण पनि यो प्रेमलाई जीवन्त राख्न हामी सफल हुन्छौ भन्ने लाग्छ ।
मलाई बाबाले भनेको कोर्सको किताब बाहेक अरू पनि पढ्ने मान्छेहरूलाई धेरै कुराहरू थाहा हुन्छ रे ।
बाबा आफैं पनि पल्टनबाट फर्केपछि हामीले नामै नसुनेका किताबहरू पढ्नुहुन्छ । मैले पनि मोक्सिम गोर्की, एन्टोन चेकब तथा याङ मो का केही कथाहरू पढिसकेकी छु । तिमीले चाहेमा यी कथाका पुस्तकहरू पढ्नलाई दिन्छुु है ।
आशा छ तिमीले मेरो पत्रको आशय बुझ्ने नै छौ र जवाफ दिनेछौ । मैले एस र नो भन्ने जवाफ खोजेकी हैन, केवल जीवनको यात्रामा तिम्रो साथ खोजेकी हुुँ । भौतिक रुपमा तिमी साथमा भए पनि नभएपनि म सधँै तिम्रो मायाको स्पर्शमा नै हुनेछु । मेरा कुराहरू मन नपरेपनि मलाई माफ गर्दिनु है ।
उही
सुनमाया आले ‘सुरक्षा’
मलाई सुनमायाको पत्रले तानेको त थिएन नै अझ उनले उठाएको क्रान्ति र जातको कुरा माओवादीले गर्छन् भन्ने भएपछि एकपटक मुटु सनन्न भयो । फेरि नाम पनि सुरक्षा रे ।
अब भने माओवादी भन्ने मनमा सम्झिन नपाउँदै मेरो ओठ तालु सुक्यो ।
माओवादी, सुनमाया, माओवादी सुनमाया, सुनमाया, माओवादी, माओवादी सुनमाया त फिलिमका दृष्य झै झल्याक्क झुलुक्क आँखामा नाच्न पो थाले ।
भोलिपल्ट सदा झै म स्कुल गएँ, सबैकुरा उस्तै थियो सिवाय सुनमाया बस्ने अघिल्लो बेन्च । विनिता भिमसरा अरू उस्तै उस्तै थिए । अघिल्लो दिन मलाई त्यस्तो पत्र लेख्ने सुनमाया सुरक्षा भएर माओवादी पो भइन् । मैले पाएको छनक ठिकै रहेछ ।
ऊ त हिजो बेलुकै माओवादी सेनामा गइछ । स्कुलको फस्ट हुने अझ एसएलसीमा फस्ट डिभिजन नै ल्याउने विद्यार्थी माओवादी बनी भन्दा हेडसर केही दुखी देखिन्थे । अरु भने कसैलाई खासै प्रभाव परेको देखिएन ।
मलाई भने डर लागिरह्यो ।
देशमा युद्धका घटना भइरहे, माओवादी मरिरहे । कता मरेका नाममा सुनमायाको नाम पो सुनिन्छ कि भन्ने पिर परिरह्यो । साथमा हुँदा मेरो उपेक्षामा परेकी सुनमाया अब भने कहिलेकाहीँ दिमागमा आइरही । स्कुलबाट हिँडेकी सुनमाया मेरो मनमा बसी की दिमागमा ?
प्रेम बनेर बसी की डर बनेर ? मैले चाल पाइनँ ।
भर्खर भर्खर खनेको कच्ची बाटोमा चल्ने रसियन ड्राइभरसँग नारिएको देखेपछि विनिताको भूत भने मज्जैले उत्रियो ।
समय बित्दै गयो ।
कम्पार्टमा परेर दुई वर्षमा एस एल सी पास गरेपछि म क्याम्पसको भन्दा पहिला एयरपोर्टको गेटबाट भित्र छिरे । यत्तिको मान्छेले स्टोरकिपरमा तलब पाउँछ । भन्ने दलालको लालित्यमा मख्ख परेर राम्रै दाम तिरेर दुबई आएँ ।
दुख के हो थाहा पाएँ, दुई वर्षमा ऋण तिरेर सकाएँ ।
दुबईमा राम्रो कमाउने हो भनेर पढेलेखेकी राम्रै केटीहरू देखाए ।
अन्त्यमा बिए पढ्दै गरेकी ’सावित्री’ मेरो जिन्दगीमा आइन् । बिहेपछि पनि उनीलाई पढ्न रोकिनँ । पढिन्, बिए पास गरिन् । बिए पास गरेकी मान्छे गाउँमा गएर घाँस दाउरा गर्दिनँ भनिन् ।
ठिकै हो । दुलेगाँैडा तिरै बस न त कोठा खोजेर भनेँ मानिनन् ।
ठूलो ठाउँमा बसे जागिर पनि पाइन्छ । काम त गर्नै पर्यो भनिन्, मान्नै पर्यो मान्दिएँ ।
म दुबईमै छदाँ एनजीओमा जागिर पाएको कुरा गरिन्, म पनि खुशी भएँ ।
हरेक वर्ष दुई महिनाको छुट्टी आउन थाले । उनीसँगको जीवन रमाइलो गरि बिताउनलाई ।
मैले बच्चाको आश गरेँ ।
‘तर अहिले नपाउँ’, उनले भन्थिन् ।
बरु अलिअलि कमाएको पैसाले जग्गा किनौँ, घर बनाऔँ हाम्रो सल्लाह भयो, ‘पोखरामै त अलि सकिन्न कि ! बरु दुलेगौँडा ÷खैरेनीतिर घडेरी किनौँ’, मैले भनेँ ।
‘अलिअलि मैले कमाएको पनि छ । बैँकबाट ऋण लिएर पोखरामै किनौँ । किस्ता तिर्दै गरौंला’, उनले भन्थिन् ।
महिलाको नाममा जग्गा किन्दा राजश्व छुट हुन्छ भनिन् । उनैको नाममा पास गरियो । अब त हामी पनि जग्गावाला भइयो । जग्गा पास गरेको दिनमा दुवैजना खुब खुशी भयौँ ।
हिजोआज अफिसको कामले उनी धेरै ठाउँ गइरहनुपर्छ भन्छिन् । कहिले मुस्ताङ, कहिले कालिञ्चोक, कहिले रारा त कहिले पाथिभरासम्म उनी गइरहनुपर्ने ।
उनले ती ठाउँमा हामी सँगै जान नपाएकोमा ‘फिलिङ एलोन’ भन्दै तस्बिरहरू फेसबुकमा पोस्ट गरिरहिन् ।
म लभ रियाक्ट गरिरहेँ ।
जिन्दगी बिन्दास पारामा चलिरह्यो । पराई भूमिमा धेरै वर्ष बितेछ । अब त जग्गा जोडियो घर बनाउन पुग्ने पैसाको जोहो गरिसकेपछि स्वदेश फर्केर केही गरेर बस्ने सोच आउन थाल्यो ।
जुन कुरा पहिल्यै सावित्रीलाई बताएको थिएँ । तर, अझै केही वर्ष दुख गरेर पछि सुख आउँछ भने किन दुख नगर्नु ? उनको कुरा मनासिब नै लाग्यो । उनी पढेलेखेकी जागिर खाएकी सबल महिला थिइन् ।
लामो कोरोना कहर पछि यसपालिको भ्यालेन्टाइन डे का लागि दुबई गुल्जार हुँदै थियो ।
ती गुलाफहरू ति साजसज्जा र अनेकन जोडी देख्दा मलाई पनि एक किसिमको उकुसमुकुस भयो । पुरानो भ्यालेन्टाइन डे को याद आयो । अनि वर्तमान अवस्थाको सबैभन्दा बढी याद त सावित्रीकै ।
फोन गरेँ । अफिसमा रहिछन्, भिडियो कल हुँदैन भनिन् फोनबाटै चुम्बन साटासाट गरियो । फोनबाट प्राप्त गरेको उनको चुम्बनले मन हल्का बनाइदियो । त्यसबखत नै उडेर कतिबेला घर पुगौँ भयो ।
होटल, स्टोरहरूको सजावट, गुलाबको फूल आयात गर्ने चटारोको बिच संकोच मान्दै सेखसँग बिदा मागें । पुरानो स्टाफ भएको कारण पनि होला यो चटारोका बीच पनि मेरो माग अस्वीकार भएन । बरु जाने आउने प्लेन खर्च समेत दिनेगरी एक महिना बिदा स्वीकृत भयो ।
म शेखप्रति कृतज्ञ भएँ ।
यो काम यति छिटो भयो कि सावित्रीलाई पनि सर्प्राइज दिने उद्देश्यले दोस्रो दिनमै पोखरा झरेर सोझै कोठामा पुगे । जुन भ्यालेन्टाइन डे थियो ।
सरासर फ्ल्याटमा पुगेँ, ढोका लक थियो । सायद सावित्री बाहिर कता गएकी होलिन् ।
भित्रबाट पनि बाहिरबाट पनि लक गर्न मिल्ने फ्ल्याटको ढोकाको डुप्लिकेट चापी पहिल्यै मसँग पनि राखेको थिएँ ।
ढोका खोँले बैठक कोठामा अँगालोमा बाँधिएका एक जोडी । मेरो अचानकको आगमनले नराम्रोसँग तर्सिए ।
तिनीहरू भन्दा बढी म ।
अपरिचितको बाहुपासमा बाँधिएर बसेकी सावित्रीलाई देखेँ ।
टेकेको भुईं भासिए जस्तो भयो, म भाउन्न भएर त्यही ढलेछु ।
प्रकाशित मिति २०७९ फागुन २ गते मंगलबार ०६:४०




