बाग्लुङ
बागलुङ राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बागलुङ कालिका भगवती मन्दिरमा पुजा आरधाना गरेकी छन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरबाट बिहान साढे १० बजे बागलुङ बजार आएकी थिइन् । हेलिकोप्टरबाट बाङ्गेचौर खेल मैदानमा ओर्लिएर उनी पुजा आरधनाका लागि मन्दिर पुगिन् ।
बाग्लुङ बजारमा रहेको बागलुङ कालिका भगवती मन्दिरका मूल पुजारी जयबहादुर खड्काबाट भण्डारीले १० मिनेट पुजा आरधना गरिन् । राष्ट्रपति भण्डारीले बाग्लुङ कालिकामा झण्डै आधा घण्टा बिताइन् । उनलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरे । राष्ट्रपति भण्डारीलाई जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समिति, उद्योगी व्यवसायी, राजनितिक दलले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी पर्वतको जलाजला गाउँपालिका–३ मल्लाज बराहतालस्थित जिसी क्षेत्री र कार्कीहरुको कुल मन्दिर उद्घाटनमा जाने क्रममा बाग्लुङ कालिकाको पुजा आराधना गरेकी हुन् ।
बराह क्षेत्र मानव बस्ती बसेदेखि नै धार्मिक र ऐतिहासिक रूपमा महत्वपूर्ण मानिन्छ । तालको बीच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रमा जनै पूर्णिमामा विशेष पुजाआजा हुने गरेको स्थानीय नविन जिसीले बताए । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् ।
प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०१:२८




