२०८३ असोज २४ गते शनिबार

राष्ट्रपति कांग्रेसलाई दिन ८ दलको समझदारी, सत्तामा पनि मिलेर जान प्रचण्डको प्रस्ताव

राष्ट्रपति कांग्रेसलाई दिन ८ दलको समझदारी, सत्तामा पनि मिलेर जान प्रचण्डको प्रस्ताव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १२ गते शुक्रबार ०७:५२

नेपाली कांग्रेसले शनिबार बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ

पाेखरा

बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।

नेपाली कांग्रेसले शनिबार बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकमा सहभागी सबै दलले समर्थन गरेको ज्वालाले बताए । व्यक्तिका सन्दर्भमा कांग्रेसले आफैं निर्णय लिने उनको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन भत्किएको संकेत गरेका छन् । शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकमा उनले नयाँ राजनीतिक यात्रा सुरु भएको बताए ।

बैठकपछि बोल्दै नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीकै प्रस्तावमा राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको बताए ।

प्रधानमन्त्री प्रचण्डको भनाइ उद्वृत गर्दै उनले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔं । राष्ट्रिय स्वाधिनता तथा जनतालाई सेवा सुविधा दिने कुरामा एकतावद्ध भएर जाउँ । सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाउँ ।’

प्रकाशित मिति २०७९ फागुन १२ गते शुक्रबार ०७:५२
हजुरको प्रतिक्रिया