पोखरा
पछिल्लो समय नेपालमा एच.आई.भी संक्रमितको संख्या घटेको भएपनि संक्रमितहरुको जीवनयापन भने सहज हुुन सकेको छैन । एच.आई.भी संक्रमितका मुद्दालाई स्थानीय तहबाट नै गम्भीर रुपमा लिइ योजना तर्जुमा गर्दै लैजानुपर्नेमा पोखरामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । सेभ द चिल्ड्रेनले गरेको सरोकारावालासँगको छलफल कार्यक्रमका सहभागिले संक्रमितहरुको गुणस्तर जीवनका लागि सामाजिकसँगै आर्थिक पक्षमा पनि ध्यान दिनुपर्ने बताए ।
नेपालले दिगो विकास लक्ष्य अन्तरगत सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्नका निम्ति ९५ः९५ः९५ अवस्था हासिल गर्नुपर्ने छ । ९५ः९५ः९५ अर्थात् ९५ प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो अवस्थाबारे थाहा पाउने, ९५ प्रतिशतको औषधी उपचारमा पहुँच हुने र ती औषधी खाने मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने भन्ने लक्ष्यमा पुग्नु हो । नेपालमा यो लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय एचआईभी रणनीतिक योजना (२०२१–२०२६) ल्याइएको छ ।
पोखरा महानगर सामाजिक विकास समितिकी अध्यक्ष तथा वडा नं १७ की अध्यक्ष राधिका शाहीले एच.आई.भी संक्रमितको जीवनयापनलाई सहज बनाउन महानगरले संवेदनशील भएर काम गर्ने बताइन् । उनले विकास भनेको भौतिक पुर्वाधारलाई मात्र सोचिदाँ स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा कार्यक्रम लिएर नआउने गरेको बताइन् । उनले भनिन्, ‘बाटो, मन्दिर बनाउन मात्र कार्यक्रम आउने गर्छ । त्यसैलाई मात्र विकास ठानिन्छ । स्वास्थ्य, शिक्षामा काम गरेर प्रभावकारी हुँदा त्यो पनि विकास हो भनेर नमान्ने बुझाइले समस्या भइरहेको छ ।’
पोखरा महानगरपालिकाका योजना प्रमुख कृष्ण तिवारीले महानगरबाट कास्कीमा रहेका संक्रमितको स्वास्थ्य, शिक्षा तथा रोजगारीका लागि महानगरले काम गर्ने बताए । सेभ द चिल्ड्रेनका हेमराज पौडेलले आफ्नो पहिचान लुकाएका एच.आई.भी संक्रमितहरुको सहज जीवन निर्वाहका लागि स्थानीय तहबाट नै प्रभावकारी कार्यक्रमहरुको योजना गरिनुपर्ने जिकिर गरे ।
पश्चिम क्षेत्रीय एच.आई.भी तथा एड्स सञ्जालका सचिव तथा कम्युनिटी सपोर्ट ग्रुप, पोखराका निर्देशक दिलिप गुरुङले एच.आई.भीबारे समाजमा रहेको भ्रमलाई सचेतनामुलक कार्यक्रमबाट हटाउदैँ लैजानुपर्नेमा जोड दिए । साथै नीतिगत तह नै यसबारे गम्भीर हुनुपर्ने बताए । एच.आई.भी तथा एड्स महासंघ नेपाल, गण्डकी प्रदेशका शान्त रानाले शिक्षित र यसबारेमा बुझेकाहरुबाटै संक्रमितलाई लाञ्छना हुने गरेको बताए । सहभागि मध्येका एक एच.आई.भी संक्रमितले सरकारले दाल चामल मात्र बाँडेर संक्रमितको जीवन सहज हुन नसक्ने बताउँदै आर्थिक सबलीकरणमा ध्यान दिनुपर्ने बताए ।
नेपालमा एच.आई.भी संक्रमितको सङ्ख्या अनुमानित ३० हजार रहेको छ । हरेक दिन नेपालमा २ जना मानिसहरु एच.आई.भी संक्रमित हुने गरेको तथ्य छ । गण्डकी प्रदेशमा ३ हजार ६ सय २३ जना एच.आई.भी संक्रमित छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको २०७८/७९ को तथ्यांक अनुसार नेपालमा १४ वर्ष मुनिका एच.आई.भी संक्रमित बालबालिका १ हजार १८३ जना छन् । जसमा गण्डकी प्रदेशमा ११२ बालबालिका रहेका छन् । नेपालमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी (पुरुष र महिला दुवै), पारलैङ्गिक समुदाय, रोजगारीका लागि विदेशीनेहरु एच.आई.भी सक्रमणको उच्च जोखिममा रहेका छन् ।
प्रकाशित मिति २०७९ फागुन १२ गते शुक्रबार ०६:१२




