पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भारतीय गाडीको नेपालमा निर्वाध प्रवेश रोक्न माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद नेपालीले पछिल्लो समय नेपाल भित्रिने भारतीय गाडी संख्या दिनानुदिन बढ्दै गएकाले निर्वाध प्रवेश रोक्न माग गरेका हुन् ।
भारतीय गाडीले उतैबाट सामान लोड गरेर ल्याउने र नेपालका जुनसुकै स्थानमा निर्वाध रुपमा ढुवानी गर्ने हुँदा नेपालमा रहेका झन्डैै ७० हजार ढुवानी गाडी थन्किने अवस्थामा पुगेको उनले दाबी गरे । यसले गर्दा ४० प्रतिशत गाडी काम नपाएर थन्किएको उनले तथ्यांक प्रस्तुत गरे । भारतीय गाडीलाई ७२ घन्टे पुर्जी जारी गर्दा नेपाली व्यवसायी मर्कामा परेको सांसद नेपालीको भनाइ छ । सांसद नेपालीले भारतीय गाडी भन्सार नाकामा अनलोड हुने व्यवस्था मिलाउन तत्काल कूटनीतिक पहल गरेर सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
एक वर्षे अवधिमा वीरगञ्ज नाकाबाट मात्रै ९३ हजार भारतीय सवारी साधन भित्रिएको तथ्यांक छ । देशभरमा हेर्ने हो भने यो संख्या २ लाख बढी रहेको छ । यसरी हेर्दा एउटा गाडीले ६० हजार मात्रै भाडा लिए पनि झन्डै ४ अर्ब २० करोड बढी रुपैयाँ भारतीय गाडीले भारत पुर्याइरहेका छन् ।
भारतीय गाडीलाई नियमन गरे रकम विदेशिनबाट जोगिने र यसले व्यापार घाटामा केही कमी हुन जाने दाबी उनले गरे । नेपालमा दर्ता भएका भाडाका सवारी साधनले साढे २ प्रतिशत लाग्ने गरेको छ । भारतीय गाडी निर्वाध सामग्री लिएर भित्रिँदा यसबाट राजस्वमा ठूलो चुहावट भइरहेकाले सरकारले ध्यान दिनुपर्ने सांसद नेपालीको माग छ ।
संसदको विशेष समयमा बोल्दै नेपालीले बर्खा सुरु भएर विपद् निम्तिन सक्ने सम्भावना रहेकोमा सरकारका संयन्त्रहरु तयारी अवस्थामा राख्न आग्रह गरे । माघ १ गते पोखरामा भएको यती एयरलाइन्स जहाजको दुर्घटनामा राज्यका सुरक्षा संयन्त्रसँग सामान्य उद्धार सामाग्रीसमेत नभएको दुखद् घटना उनले सरकारलाई स्मरण गराए ।
प्राकृतिक विपत्तिलाई चर्चाको विषय नबनाउन नेपालीको आग्रह छ । राज्यको उद्धार संयन्त्र चुस्त नहुँदा उद्धारमै दयनीय अवस्था कहिलेसम्म भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति २०७९ फागुन १३ गते शनिबार ०२:१३




