२०८३ कात्तिक १० गते सोमबार

वडा कार्यालयमै कृषि मेला, दंग किसान !

वडा कार्यालयमै कृषि मेला, दंग किसान !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १७ गते बुधबार ०६:४५

किसानी पेसामै रमाउँदै आएका स्थानीय वडा कार्यालयमै आफ्नो उत्पादन प्रदर्शनमात्रै नभएर बिक्री वितरण गर्न पाउँदा मख्ख थिए ।

पोखरा

पोखरा १३, आर्बामा व्यवसायिक तरकारी खेती गर्दै आएका श्रीधर बराल बुधबार वडा कार्यालयमा भेटिए । वडा कार्यालय आउँदा उनको हात खाली थिएन, आफूले उमारेको अदुवा, आलुसहित तरकारी ल्याएका थिए ।
पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरिया कृषक बरालको अदुवा, आलु राम्रोसँग नियाले र प्रशन्न देखिए । तत्कालै ५ किलो किनिहाले । ‘यो अदुवा पनि एकदमै राम्रो छ । सक्नेले बिउकै लागि किनेर लैजाँदा हुन्छ है बजारमा यस्तो पाइन्न,’ उनले भने ।

सन्दर्भ थियो, पोखरा महानगर वडा नं. १३ ले बुधबार राखेको वडास्तरीय बृहत कृषि मेला प्रदर्शनी ।

बरालले ५ वर्षदेखि व्यवसायिक अदुवा खेती गर्दै आएका छन् । उनले उत्पादन गरेको ‘कपुरकोट १’ जातको अदुवाले राम्रो चर्चा पाएपछि दंग थिए । ‘३, ४ किलो वर्षमा उत्पादन हुन्छ । कहिले ३ सय रुपैयाँ किलोसम्म बेच्छु अहिले सिजन भएर सय रुपैयाँ किलो जान्छ,’ उनले सुनाए ।

वडाभित्रका किसानलाई लक्ष्य गरी गरिएको कृषि मेलामा विभिन्न १० वटा स्टल राखिएको थियो । जसमा फलफुलदेखि पुष्प, खाद्यान्नसम्मका उत्पादन प्रदर्शन तथा बिक्री वितरणमा राखिएको थियो । किसानी पेसामै रमाउँदै आएका स्थानीय वडा कार्यालयमै आफ्नो उत्पादन प्रदर्शनमात्रै नभएर बिक्री वितरण गर्न पाउँदा मख्ख थिए ।

मेलामा उत्पादन प्रदर्शनसँगै रैथाने बाली परिकार, माटो परीक्षण, बाली उपचार शिविरलगायत पनि गरिएको थियो । ‘किसानी गर्दैै आए पनि वैज्ञानिक रुपमा कसरी गर्ने थाहा थिएन । अरुबेला बिचौलियाको भर पर्नुपथ्र्यो, अहिले सिधै ग्राहकहरुसँग परिचय भएको छ,’ कृषक ब्रिजकुमार चौधरीले भने, ‘यस्तो मेला बेलाबेला गरिराखे हामीलाई पनि राम्रो हुन्थ्यो ।’

महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले वडास्तरमा हुने साना कृषि मेलाले मेलाले पनि किसानलाई ठूलो सहयोग पुग्ने बताए । उनले उत्पादन बढाउनुका साथै बाली तथा बिउविजनबारे जानकारी दिन पनि मेलाले सघाउ पु¥याउने सुनाए ।

‘अग्र्यानिक उत्पादनको एकदमै ब्रान्डिङ गर्छ । पोखरा फेरि आफैं विविधता बोकेका ठाउँ हो । तल्लो माथिल्लो क्षेत्र फरक छ, कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भन्ने पनि मेलाले सिकाउँछ,’ कडरियाले भने, ‘हाम्रो बाँच्ने आधार नै कृषि भएकाले सबै कृषिमा गम्भीर हुन जरुरी छ ।’ कडरियाले सस्तो पाउने नाममा पछिल्लो समय बाहिरबाट विषादी भित्राउने काम भइरहेको सुनाए । ‘खासमा सस्तो पाउने नाममा फोहोरको डंगुर भित्र्याइरहेका छौं । यसलाई स्थानीय उत्पादन बढाएरमात्रै घटाउन सकिन्छ,’ उनले भने । उनले महानगरले चाँडै कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले कृषि प्रधान देशमा कृषिको महत्व बुझाउन र किसानसँग नजिक हुन पनि मेला आयोजना गरिएको सुनाए । ‘नेपाललाई कृषि प्रधान देश भनिरहेका छौं । तर, हाम्रो खाद्यान्न, तरकारी, फलफुल सबै आयातित छ । हामीले हाम्रै प्रोडक्ट पनि मार्केटिङ गर्न सकिराखेका छैनौं,’ उनले भने, ‘लोकल उत्पादनलाई मार्केटिङ गर्न पनि मेला आवश्यक हुने रहेछ ।’

प्रकाशित मिति २०७९ फागुन १७ गते बुधबार ०६:४५
हजुरको प्रतिक्रिया