२०८३ कात्तिक १० गते सोमबार

कास्कीका ४ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

कास्कीका ४ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २९ गते सोमबार ०७:३६

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले आइतबार दर्ता भएका संगठनको नामको विषयलाई लिएर परेको रिटमाथि अन्तरिम आदेश नआउँदासम्म कुनै गतिविधि नगर्न आदेश दिएको हो ।

पृथ्वीनारायण क्याम्पसमा २ चैतसम्म निर्वाचन गतिविधि नगर्न अदालतको अल्पकालीन आदेश

पोखरा

कास्कीका ६ मध्ये ४ क्याम्पसमा आगामी ५ चैतमा स्ववियु निर्वाचन हुने सम्भावना घटेको छ ।

पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, विन्ध्यावासिनी संस्कृत विद्यापीठ, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, पोखरा नर्सिङ क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसमा चुनाव हुनुपर्ने हो । नर्सिङ क्याम्पस र इन्जिनियरिङ अध्ययन संस्थानमा शनिबार मनोनयन दर्ता भए पनि अरु क्याम्पसमा मनोनयन नै दर्ता हुन नसकेपछि ५ चैतमा अरु क्याम्पसमा चुनाव हुने सम्भावना घटेको छ ।

यसैबीच उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा २ चैतसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले आइतबार दर्ता भएका संगठनको नामको विषयलाई लिएर परेको रिटमाथि अन्तरिम आदेश नआउँदासम्म कुनै गतिविधि नगर्न आदेश दिएको हो ।

दीपसन गुरुङ, विप्लवी न्यौपानेलगायत विद्यार्थीले स्ववियु चुनावमा भाग लिन स्वतन्त्र विद्यार्थी समूह बनाएर संगठन दर्ता गराएका थिए । उक्त क्याम्पसमा मतदाता झुक्किने गरेर अनेरास्ववियु र नेविसंघले डमी संगठन दर्ता गराएका थिए । पछि निर्वाचन अधिकृतको कार्यालयले त्यस्ता सबै नाम परिवर्तन गर्दा गुरुङ, न्यौपानेको संगठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो ।

त्यसपछि पुरानै नाम कायम गरिदिन माग गर्दै न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा २६ फागुनमा रिट हालेकी थिइन् । उनले पुरानै नाम कायम गरिदिन क्याम्पसलाई विपक्षी बनाएर अन्तरिम आदेश मागेकी थिइन् ।

अल्पकालीन आदेश दिएर उच्चले दुवै पक्षसँग छलफल गर्न २ चैतमा अर्को पेसी तोकेको छ । त्यतिन्जेलसम्मका लागि स्ववियु निर्वाचन हुने त्रिभुवन विश्वविद्यालयका क्याम्पसमध्ये धेरै मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा कुनै निर्वाचनका गतिविधि नहुने भएको छ ।

प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०७:३६
हजुरको प्रतिक्रिया