२०८३ असोज २३ गते शुक्रबार

विरलै रक्तसमूह हुनेहरु पर्वतमा १३ जना भेटिए

विरलै रक्तसमूह हुनेहरु पर्वतमा १३ जना भेटिए

सुमन जङग थापा

@Public 4K Tv

२०७९ फागुन ३० गते मंगलबार १०:०२

उनले हेर्दा सामान्य लागेपनि रक्त समूह पहिचान महत्वपूर्ण कार्यक्रम रहेकोले यसले भोलीका दिनमा हुनसक्ने दुर्घटना तथा क्षति कम गर्न सहयोग पुग्ने बताए ।

कुश्मा

पर्वतको वितलवमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा संचालित दुईदिने विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान गर्ने क्रममा विरलै रक्त समूह हुने १३ जना पहिचान गरिएको छ । पिपलटारी स्वास्थ्य चौकीका प्रमुख रामबहादुर खड्काले दिएको जानकारी अनुसार १३ जना कम पाइने रक्त समूहका व्यक्तिहरु रहेका छन् । उनका अनुसार “ओ” नेगेटिभ ७ जना, “ए” नेगेटिभ ४ जना, “बी” नेगेटिभ १ जना पहिचान भएका छन् भने अति कम पाइने रक्त समूह “एबी” नेगेटिभ १ जना पहिचान गरिएको छ ।

कुश्मा नगरपालिका वडा–१० का ६ वटा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षकहरुको समूह पहिचानमा जम्मा तीनसय ६८ जनाको रक्त परीक्षण गरिएको थियो । पूर्णेश्वर माविमा भएको पहिचान कार्यक्रममा पूर्णेश्वर मावि र सिद्धेश्वर प्राविको सहभागिता रहेको थियो । सोमबार जनक माविमा गरिएको परीक्षणमा जनक मावि, पिपलटारी प्रावि, लाँकुरी प्रावि र धवलागिरी वालविकास केन्द्रका सहभागिता रहेको थियो ।

पर्वत अस्पतालका ल्याब टेक्निसियन आशिष नेपालीले सोमबारसम्म गरिएको परीक्षणमा पहिलो पटक एबी नेगेटिभ ब्लड पहिचान गरेको बताए । “अति कम व्यक्तिमा मात्र पाउन सकिने यस्ता रक्त समूह पहिचान भएका व्यक्तिहरुले भोलिका दिनमा हुन सक्ने सम्भावित दुर्घटना र क्षतिमा कमी ल्याउन आफ्नो रक्त समूह भएका व्यक्तिहरु खोजी गर्न, सम्पर्क बढाउन र साथी बनाउन जरुरी छ ।”, उनले भने, “रक्त समूह पहिचानले फ्रेस रगत दिनुपर्ने ठाउँमा सहजता हुने र आफ्नो तथा समुदायका व्यक्तिहरुको जीवन रक्षा गर्न सहयोग पुग्ने छ ।”

समाजले रक्त समूह पहिचान समापन कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रमको दोश्रो दिन जनक माविमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार शान्त पौडेलले पूर्णेश्वर भूपू समाजले गरेको कामको प्रशंसा गरेका थिए । उनले हेर्दा सामान्य लागेपनि रक्त समूह पहिचान महत्वपूर्ण कार्यक्रम रहेकोले यसले भोलीका दिनमा हुनसक्ने दुर्घटना तथा क्षति कम गर्न सहयोग पुग्ने बताए ।

सोही कार्यक्रमा कुश्मा १० का वडाअध्यक्ष रामचन्द्र सुवेदी, जनक माविका प्रधानाध्यापक टेकनाथ अधिकारी, संस्थाका अध्यक्ष राजु पौडेल, नेपाली काँग्रेस पर्वत क्षेत्र (क) का सदस्य लोकप्रसाद अधिकारी, नेकपा एमाले कुश्मा १० का वडा सचिव शोभाखर खनाल, नेकपा माओवादी केन्द्र कुश्मा १० वडा कमिटी अध्यक्ष कृष्ण सुवेदी, संस्थाका सचिव सन्तोष पौडेल, कोषाध्यक्ष शर्मिला सुवेदी तिवारी लगायतले बोलेका थिए ।

समापन कार्यक्रममा पर्वत जिल्लाका क्रियाशील पत्रकार सुमन जंग थापा, पर्वत अस्पतालका ल्याव टेक्निसियन आशिष नेपाली, पिपलटारी स्वास्थ्य चौकीका प्रमुख रामबहादुर खड्का, सि. अहेव रेखबहादुर नेपालीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति २०७९ फागुन ३० गते मंगलबार १०:०२
हजुरको प्रतिक्रिया