पोखरा । पोखरा लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा विद्यार्थीले आमरण अनसन सुरु गरेका छन् ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा आबद्ध एउटा समूहका विद्यार्थीले स्वतन्त्र विद्यार्थी युनियन गराउन खटिएका निर्वाचन अधिकृतको राजीनामा माग गर्दै बुधबार बिहानैदेखि अनसन बसेका छन् ।
टिकट वितरणको असन्तुष्टिले यो क्याम्पसमा नेविसंघको दुई पक्षले एउटा पक्षले अर्कोलाई नस्वीकारेको अवस्था छ । क्याम्पस नेविसंघ इकाइ समितिका उपसभापति, सचिव, सदस्यसहित १४ जनाले राजीनामा दिइसकेका छन् । राजीनामा दिएका विद्यार्थीहरुकै समूहकाले बुधबारदेखि आमरण अनसन थालेका हुन् ।
निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत र नयाँ निर्वाचन तालिका घोषणा हुनुपर्ने माग उनीहरुको छ । इकाइ समितिमा छलफल नै नगरी माथिल्लो समितिले एकलौटी टिकट बाँडेको भन्दै नेविसंघभित्रकै एउटा समूह असन्तुष्ट रहँदै आएको छ ।
क्याम्पसले स्ववियु निर्वाचनअन्तर्गत आफ्नो कार्यकातिलकाअनुसार काम गरिरहेको छ । क्याम्पसले मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
असन्तुष्ट समूहले निर्वाचनका गतिविधि अघि नबढाउन भन्दै निर्वाचन अधिकृतको कार्यालय र प्रशासनमा ताला लगाएका थिए । निर्वाचन समितिले त्यसका बाबजुद आफ्नो काम गरेपछि आफूहरुलाई कमजोर ठानेर निर्वाचनसम्बन्धी गतिविधि गरेकाले असन्तुष्ट समूहले अनसन थालेको हो ।
प्रकाशित मिति २०७९ चैत १ गते बुधबार ११:१७




