भट्टराई भन्छन्ः नेताले वचन पूरा गरे, अब जनताले न्याय गर्छन्
पोखरा
वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ–१ मा नेपाली कांग्रेसले नेता गोविन्द भट्टराई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १२ जना आकांक्षीबाट १ नम्बरमा सिफारिस भएका भट्टराईकै नाम टुंग्याएको हो ।
२०७४ सालमा एमाले–माओवादी वाम गठबन्धन बनाएर चुनावमा जाँदा तनहुँ–१ (१)मा पराजित भट्टराई मंसिर १४ गते भएको चुनावमा प्रतिनिधि सभामा आकांक्षी थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले नै टिकट पाउँदा भट्टराईले स्वतन्त्र उम्मेदवारीको तयारी गरेका थिए । तर, नेता पौडेल र सभापति शेरबहादुर देउवाले पनि पार्टीको कोषाध्यक्ष वा राष्ट्रिय सभामा लैजाने गरी उचित व्यवस्थापन गर्ने बताएपछि भट्टराई पछि हटेका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएलगत्तै देउवाले नै चुनावको तयारी गर्न पनि भट्टराईलाई भनेका थिए । तर, १२ जनाभन्दा धेरै उम्मेदवार हुने कसरतमा थिए । कांग्रेस कार्यसम्पादन समितिको बिहीबारको बैठकले भट्टराई नै टिकट दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले तनहुँ–१ मा टिकट दिने निर्णय गरेपछि गोविन्द भट्टराईले चुनावअघि नै मतदाता उत्साही रहेको बताएका छन् । तनहुँ–१ मा जो जसलाई मतदाताले जिताएर पठाए उनीहरु मन्त्रीदेखि राष्ट्रपतिसम्म पुगेकाले पनि यसपटक आफ्नो पक्षमा निर्णय हुँदा खुसी छाएको बताएका हुन् । टिकट पाएपछि नेताहरुले दिएको वचन पूरा गरेको र अब जनताको मत पनि जितेर संसद छिर्ने भट्टराईले बताएका छन् । तनहुँ–१ का ३ वटै पद गठबन्धनले जितेर प्रदेशको भौतिक पूर्वाधार मन्त्रीदेखि राष्ट्रपतिसम्म पु¥याएकाले यसपटक आफूले पनि जित्ने उनको भनाइ थियो ।
एकीकृत समाजवादीका नेताहरुले हामीले पाउनुपर्छ भनेर आफ्नो नेतासँग दाबी गर्नु स्वभाविक भए पनि निर्णय भइसकेपछि समस्या नहुने उनको भनाइ थियो । एमालेबाट पूर्व संघीय वन मन्त्री तथा प्रदेशका अर्थमन्त्री भइसकेका किरण गुरुङको पनि चर्चा छ ।
कांग्रेसबाट कारबाहीमा परेका पूर्व सहमहामन्त्री तथा मन्त्री गोविन्दराज जोशी समूहको पनि आफूमाथि सहयोग नै हुने भट्टराईले बताए । जोशीलाई पनि तनहुँ–१ वासीले जिताएर पटक पटक मन्त्री भएको बताउँदै अब आफ्नो पालो आएको भट्टराईको भनाइ थियो । स्कुले विद्यार्थी हुँदादेखि नै राजनीति सुरु गर्दै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष र नेपाल तरुण दलको पनि स्थापनाको दोस्रो कार्यकालको महासचिव भएर काम गरेका भट्टराईले आफूलाई सबैको सहानुभूति पनि रहने बताउँछन् ।
प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार ०१:५६




