परीक्षा हलभित्र तस्बिर लिन नपाइने
पोखरा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षामा विद्यार्थीले आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा दिनेछन् । यस वर्षको एसइई परीक्षामा देशभरबाट ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र तोकिएको छ । यो पटक जापानबाट पनि विद्यार्थी एसइईमा सहभागी हुँदैछन् । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार जापानमा श्रम गर्न गएकाका छोराछोरीले जापानबाट एसइई दिन लागेका हुन ।
कास्कीबाट १० हजार ४ सय ४२ जना परीक्षार्थी सहभागी हुँदैछन् । कास्कीका २ सय ९१ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए । पोखरा ३२ वटा तथा अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा एकएक वटा परीक्षा केन्द्र गरी कास्कीमा ३४ वटा केन्द्र रहेको सुवेदीले बताए । उनका अनुसार कास्कीमा २१ जना सुस्तश्रवण, १३ जन दृष्टिविहीन सहभागी छन् भने बाल सुधारगृहबाट ९ जनाले परीक्षा दिनेछन् ।
कास्कीसहित गण्डकी प्रदेशमा पनि एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षालाई शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउने गरी तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय पोखराका निर्देशक अम्बिकाप्रसाद आचार्यले बताए । उनका अनुसार गण्डकीमा ४३ हजार १ सय ६४ जना परीक्षार्थी सहभागी हुँदैछन् । गण्डकीमा २ सय २३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
आचार्यले परीक्षालाई मर्यादित बनाउन गृह मन्त्रालयले जारी गरेको ९ बुँदै आचारसंहितालाई कार्यान्वयन गरी गर्ने अनुमगनकर्ता खटाइएको जानकारी दिए । उनले फरक क्षमता भएका, किरियापुत्री तथा सुत्केरी वा अशक्तलाई सहज रुपमा परीक्षा दिन पाउने वातावरण मिलाइएको बताए ।
परीक्षा नियन्त्रया कार्यालयले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ । परीक्षा केन्द्रमा लैजान निषेध गरिएका कुनै पनि बस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा तथा केन्द्रमा खटिएका कर्मचारीबाट गलत गतिविधि भए कानुन अनुसार कारबाही कार्यालयले बताएको छ ।
परीक्षा केन्द्रमा सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाउनेछन् । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको कार्यालयले जानकारी दिएको छ । एसइई परीक्षालाई सम्पन्न गर्न देशभर ७८ हजार जनशक्ति खटिएका छन् ।
प्रकाशित मिति २०७९ चैत १७ गते शुक्रबार ०७:१९




