दमौली
नेपाली कांग्रेसले कारबाही फुकुवा गरेपछि पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले जालझेल भएको हुन सक्ने बताएका छन् । फेरि झुक्याउनका लागि कारबाही फुकुवा भयो भनेको हुनसक्ने उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकले गोविन्दराज जोशी लगायत केही नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेस स्वतन्त्र अभियान विशेष भेलामा जोशीले भने, ‘कारबाही नै भएको छैन फुकुवा कसरी गर्ने । अब उनीहरुले फेरि झुक्याउनका लागि अब फुकुवा भो गोविन्दराज जोशीलाई भन्न सक्छन् ।’
जोशीले आफ्नो फुकुवा भए आफुसँगै लागेका नेता कार्यकर्ताको के हुन्छ भनेर प्रश्च गरे । उनले जालझेलको भाषा प्रयोग गर्न सक्ने सम्भावना भएको जिकिर गरे ।
पूर्वमन्त्री समेत रहेका जोशी पदको लडाँइ नभइकन नेपाली कांग्रेसलाई सही बाटोमा ल्याउन अभियानमा लागेको बताए । केन्द्रीय समितिले महसुश गर्नुपर्ने उनको तर्क छ ।
२०७४ सालको निर्वाचनमा रामचन्द्र पौडेललाई पराजित गर्न भुमिका खेलेको भन्दै नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरेर जोशीलाई कारबाही गरेको थियो । मंसिर ४ मा भएको निर्वाचनमा पनि जोशीले तनहुँ १ मा रामचन्द्र पौडेल विरुद्ध उम्मेदवारी दिएका थिए । रामचन्द्र पौडेलले चुनाव जित्दा जोशी ६ हजार ८८६ मतसहित तेस्रो भए ।
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि बैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस परित्याग गरेर स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएपछि कमजोर महशुस गर्दैै कांग्रेसले जोशीको कारबाही फुकुवा गरेको हो ।
प्रकाशित मिति २०७९ चैत १९ गते आइतबार ०६:२८




