२०८३ साउन २१ गते बिहीबार

स्याङजामा दुई दिनमा एउटै फर्मका २२ बाख्रा मरे

युवराज पौडेल

@Public 4K Tv

२०७९ चैत २३ गते बिहीबार ०५:५२

उनले पनि पूरानै कारण दोहोर्याए, ‘विषाक्त घाँस र दानाको कारण बाख्राको मृत्यु भएको हो ।’ बाख्रा बिरामी हुनुको कारण पत्ता नलाग्दा झनै पीडा थपेको सुवेदी बताउँछन् ।

पशु प्राविधिकले लापरवाही गरेको कृषकको आरोप

स्याङजा

पुतलीबजार नगरपालिका– १३ जिमिरेमा सञ्चालित आँधीखोला एग्रो फार्मका बाख्रा मंगलबारदेखि बिरामी पर्न थाले । सञ्चालक शेषकान्त सुवेदीले बाख्राको स्वास्थ्य परिक्षण गर्न मंगलबार नै पशु प्राविधिकलाई बोलाए । सुवेदीका अनुसार समयमै प्राविधिक आइपुगेनन् ।

बिरामी बाख्रा निको हुनुको सट्टा गम्भिर भएपछि कृषक सुवेदीले भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. इन्द्र भट्टलाई समस्या सुनाए । फार्ममा आएर बाख्रा बिरामी हुनुको कारण पत्ता लगाउन अनुरोध गरे । बाख्रा बिरामी हुनुुको कारण पत्ता लागे उपाचार हुने उनको झिनो आशा निराशामा बदलियो । डा. भट्टले आफु वालिङ जान लागेको बताउँदै पशु प्राविधिक अनिल गौतमलाई बोलाउन सुझाव दिए ।

ढिला गरेर फार्म आएका पशु प्राविधिक अनिल गौतमले विषाक्त घाँस खाएको कारण बाख्रा बिरामी परेको तर, समस्या गम्भीर नभएको सुनाएर फर्किए । २२ बाख्रा मरेका सुवेदीले जानकारी दिए । बुधबारदेखि बाख्रा मर्न थालेका हुन्। जसमा अष्ट्रेलियाबाट २ लाख ५० हजार रुपैयाँ खर्चेर ल्याएको बोयर जातको ब्याड बोका पनि छ ।

२ दिनमा आफूले पालेका झण्डै आधा बाख्रा मर्नुको कारण पशु प्राविधिकको लापरवाही भएको सुवेदीको जिकिर छ । ‘हामी सामान्य कृषक हौं । बाख्रा पाल्न, स्याहारसुसार गर्न जानेका छौं । रोगको कारण पत्ता लगाउने र उपचार गर्ने काम विज्ञ र प्राविधिकको हो । उहाँहरूकै लापरबाहीले गर्दा बाख्रा सखाप हुन हुन लाग्यो’, उनले भने ।

उनले थपे, ‘लगानी सबै डुबेको छ ।’ बेलैमा रोगको पहिचान गरेर उपचार गर्न नसक्दा १० लाख रुपैयाँ क्षति भएको उनको दाबी छ ।

सुवेदीले एक दशक वैदेशिक रोजागारीको शिलशिलामा कतारको चर्को घाममा बिताए । देशमै सम्भावना खोज्ने प्रणले फर्किएका उनले ४ वर्ष अगाडि व्यवसायिक बाख्रापालन सुरु गरेका हुन् । बाख्रा पालनमा ५० लाख रुपैयाँ लगानी गरेको उनले जानकारी दिए ।

पछिल्लो समय उनको बाख्रा गोठमा ५० बाख्रा थिए । उनका अनुसार अरु बाख्रा पनि बिरामी छन् । बिहीबार भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. इन्द्र भट्ट सुवेदीको फार्ममा पुगे । उनले पनि पूरानै कारण दोहोर्याए, ‘विषाक्त घाँस र दानाको कारण बाख्राको मृत्यु भएको हो ।’ बाख्रा बिरामी हुनुको कारण पत्ता नलाग्दा झनै पिडा थपेको सुवेदी बताउँछन् ।

बाख्रा व्यवसायी संघ स्याङ्जाका सदस्य उदय जिटी सुवेदीको बाख्रा फार्ममा भएको अकल्पनीय क्षतीले बाख्रापालक कृषकलाई चिन्ता थपेको बताए ।

यस विषयमा बुझ्न भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. इन्द्र भट्टलाई सम्पर्क गर्दा आफू निरन्तर कृषकको सम्पर्कमा रहेको र उपचारका लागि फार्ममा पुगेर फर्किएको बताए । बाख्राको मृत्युको कारण पत्ता लगाउन नसकिएकाले नमुना संकलन गरेर पोखरा पठाउने तयारी गरेको जानकारी दिए । उनले भने, ‘सुवेदीले भने जस्तो २१-२२ वटा बाख्रा मरेका छैनन् । १०-११ वटा जति मात्रै हो ।’

वडाध्यक्ष जुद्धबहादुर थापाले विहान १० बजेसम्म १५ बाख्रा मरेको पुष्टि गरे । ‘अरु ६ वटा पनि सिकिस्त थिए’, उनले भने । वडाध्यक्ष थापाका अनुसार बुधबारदेखि बाख्रा मर्न थालेका हुन् ।

प्रकाशित मिति २०७९ चैत २३ गते बिहीबार ०५:५२

हजुरको प्रतिक्रिया