पोखरा । नयाँ वर्षको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भुर्जुङखोला तातोपानी माउन्टेन बाइक रेस हुने भएको छ ।
माछापुच्छ्रे–२ को ग्रीनफोर्स युवा क्बलबले पन्ध्रौं वार्षिकोत्सव र नयाँ वर्ष २०८० को अवसरमा छैटौं संस्करणको माउन्टेन बाइक रेस गर्न लागेको हो ।
खुला र गण्डकी प्रदेशस्तरीय गरेर दुई विधामा ५० किलोमिटर दुरीको रेस हुने रेस संयोजक माधव आचार्यले जानकारी दिए । खुला विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रूपैयाँ पुरस्कार पाउने छन् ।
गण्डकी प्रदेश विधातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले १० हजार, ७ हजार, ५ हजार र ३ हजार रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रूपैयाँ पाउने संयोजक आचार्यले जानकारी दिए । साइकल रूट लामाचौर–पुरन्चौर–चुरूङ्गा–तातोपानी हुँदै घुमेर घाचोक–लाहाचोक–राइकर–ठूलोढुंगा हुँदै कोट–कसेरी तोकिएको छ ।
माउन्टेन बाइक रेससँगै नयाँ वर्षको अवसरमा पुरूष तथा महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगितासहित साँस्कृतिक कार्यक्रम पनि हुनेछ ।
प्रकाशित मिति २०७९ चैत २७ गते सोमबार ०४:३१




