कांग्रेससँग सहकार्यको वार्ता सकिएको घोषणा
पोखरा
नेपाली कांग्रेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले तनहुँ–१ को उपनिर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन नगर्ने संकेत गरेको छ । तनहुँ–१ मा निर्णायक मानिएको जोशी समूहले बुधबार विज्ञप्ति निकालेर कसैको पक्षमा नखुल्ने र आफू पक्षधरलाई स्वतन्त्र भएर मत दिन आग्रह गरेको छ ।
पछिल्ला दिनमा कांग्रेस नेतृत्व र नेतासँग निरन्तर संवादमा रहेको यो समूहले आफ्ना समर्थकलाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । वर्तमान चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न तनहुँ–१ का मतदाताहरूलाई जोशीको अनुरोध छ ।
नेपाली कांग्रेसले वार्ता आफूलाई झुक्याउने काम गरेको भन्दै जोशीले कांग्रेससँग पहिलो चरणको वार्ता समाप्त भएको बताए । कांग्रेसले चैत १९ गते केन्द्रीय कार्यसम्पादन समितिबाट जोशी लगायतका नेता कार्यकतामाथिको कारबाही फुकुवाको निर्णय गरेको थियो । तर, त्यो निर्णय जालझेलपूर्ण, झुक्याउने र आफूहरूलाई अपमान गर्ने खालको दस्ताबेज रहेको ठहर जोशी समूहको छ ।
प्रकाशित मिति २०७९ चैत २९ गते बुधबार ०३:३५



