पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आगामी वैशाख ९ गतेलाई बोलाइएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गतेसम्म संसदबाट विश्वासको मत लिनुपर्ने समयसीमा छ । त्यसैले प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले वैशाख ९ गतेलाई बर्खे अधिवेशन बोलाएका हुन् । सो दिन दिउँसो ३ बजे बैठक बोलाइएको छ ।
गत चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले वैशाख ९ गतेसम्म विश्वासको मत लिनुपर्ने अवस्था छ ।
प्रदेश सभाको अंकगणित हेर्दा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था छैन ।
प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले बहुमत अर्थात् ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन ।
स्रोतका अनुसार आफ्नो पक्षमा स्पष्ट बहुमत नभएकाले मुख्यमन्त्रीले विश्वास मत नलिई संसदबाटै राजीनामा घोषणा गर्ने सम्भावना छ ।
खगराजपछि ठूलो दलको नेताको हैसियतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने छन् ।
प्रकाशित मिति २०८० वैशाख १ गते शुक्रबार १२:२२




