२०८३ साउन २१ गते बिहीबार

प्रदूषण घट्न थालेपछि पोखराबाट उडे जहाज

प्रदूषण घट्न थालेपछि पोखराबाट उडे जहाज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ३ गते आइतबार ०८:३१

गत शुक्रबारदेखि मौसम बिग्रिएर भिजिबिलिटी कम हुँदा हुन नसकेको उडान आइतबार दिउँसो साढे २ बजेदेखि नियमित भएको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए ।

पोखरा । वायु प्रदूषणले पोखराको मौसम बिग्रँदा दुई दिनदेखि अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । धुँवा–धुलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई दिनदेखि रोकिएको थियो ।

गत शुक्रबारदेखि मौसम बिग्रिएर भिजिबिलिटी कम हुँदा हुन नसकेको उडान आइतबार दिउँसो साढे २ बजेदेखि नियमित भएको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमा आधारित भएर गरिने उडान (आइएफआर) भए पनि ३७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

बिहीबार राति पोखरामै बसेका दुई विमान शुक्रबार बिहान काठमाडौं उडेका थिए । त्यसपछि शुक्रबार दिनभर, शनिबार र आइतबार बिहानसम्म उडान हुन सकेको थिएन । आइतबार दिउँसो २ बजेपछि ७ वटा उडान भएका छन् ।

मौसमको खराबीले उडान नियमित हुन नसक्दा नयाँ वर्षमा पोखरा घुम्न आउने र फर्कने पर्यटक प्रभावित भएका छन् । यसले गर्दा पोखराको पर्यटन क्षेत्रसँगै विमानस्थलले पनि आर्थिक रूपमा घाटा व्यहोर्नुपरेको छ ।

पोखराबाट बुद्ध, यती, श्री र सौर्य एअरलाइन्सले उडान भर्छन् । पोखराको विमानस्थलबाट दैनिक ६० उडान–अवतरण हुने गरेको छ । पोखरा विमानस्थलबाट काठमाडौं, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, भरतपुर, जनकपुर, मुस्ताङलगायत गन्तव्यमा उडान हुने गरेको छ ।

प्रकाशित मिति २०८० वैशाख ३ गते आइतबार ०८:३१
हजुरको प्रतिक्रिया