पर्वतको सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरि कालीगण्डकी नदीमाथी सार्क मुलुकहरुकै नमुना मोटरेवल पुल निर्माण हुने भएको छ । कालीगण्डकी नदिमाथि २०६ मिटर उचाई र ५ सय १० मिटर लम्बाई रहने पुल बन्ने भएको हो ।
कुश्मा नगरपालिका वडा नं. ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं. १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक सर्वेक्षण सम्पन्न भइसकेको छ । पुल निर्माणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रकृया अघि बढाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निर्देशनसँगै पुल निर्माण हुने आशा जगाएको उपभोक्ता समितिका अध्यक्ष तथा अभियन्ता मेघनाथ शर्माले बताए । पुल निर्माण भएमा पर्वत र बागलुङबीच सिधा सम्पर्क हुनेछ भने बुटबल, भैरहवा, लुम्विनी हूँदै पोखरा र स्याङजा सम्मको दुरी समेत घट्ने भएको छ । मन्त्रिपरिषदको कार्यालयले दिएको आदेशसँगै पुल निर्माण हुने आशा जागेको र मोटरेवल पुल बनेमा सिङ्गो धौलागिरि क्षेत्रको एकीकृत विकासमा टेवा पुग्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए ।
सडक अभावले लामोसमयदेखि अलपत्र बनेको बलेवा विमानस्थल समेत संचालनमा आउने भएको छ । त्यस्तै यस क्षेत्रको पर्यटकीय विकासमा समेत पुलले महत्वपुर्ण भूमिका निर्वाह गर्ने छ । निर्माण हुने पुल कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने महत्वपुर्ण नाका समेत बन्ने छ । जसका कारण सिङ्गो धौलागिरि क्षेत्रको आर्थिक विकासमा समेत पुलले प्रभाव पार्ने स्थानीयको विश्वास छ ।
प्रारम्भिक सर्वेक्षणमा पुल निर्माणका लागि १ अर्ब २९ लाख रुपैँया लागत लाग्ने अनुमान गरिएको थियो । यद्दपी अहिलेको अवस्थामा पुलको लागत बढ्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति २०७६ चैत ४ गते मंगलबार ११:०२




