४ वर्ष बित्दा पनि किन सारिएनन् उपत्यकाका सालिक ?
पोखरा
पोखरा बसपार्क छेउमा ३० को दशकअघिसम्म ‘चाइना चोक’ नामले परिचित थियो । बसपार्क नजिकैको सेती नदीमाथि चिनिया सरकारको सहयोगमा पुल बनेपछि सेती पुल ‘चाइनिज पुल’ र चोकको नाम ‘चाइना’ स्थापित हुन पुग्यो ।
तर, पोखरा काठमाडौं जोड्ने पृथ्वीराजमार्ग बनेपछि भने चोकमा पृथ्वीनारायण शाहको शालिक ठडियो र नाम पनि विस्तारै परिवर्तन हुँदै ‘पृथ्वीचोक’ हुन पुग्यो ।
सुरुमा चाइना पुलले चिनिए पनि पृथ्वीनारायण शाहको शालिक अनावरणसँगै विस्तारै पृथ्वीचोकमै सबै अभ्यस्त हुन थाले ।
०६२/६३ को जनआन्दोलनका क्रममा आक्रोशित आन्दोलनकारीले पृथ्वीनारायण शाहको सालिक तोडफोड गरे । गणतन्त्र स्थापनापछि शाहको शालिकको ठाउँमा लखन थापाको शालिक उभ्याइयो र नयाँ नामाकरण गरियो, ‘लखन थापा चोक !’
चाइना पुलबाट नाम फेरिँदै कहिले पृथ्वीचोक त कहिले लखन थापा चोक भइरह्यो । तर, चोक विवादमुक्त भने हुन सकेको छैन ।
०७४ असोज ९ गते मध्यरातमा पोखरा महानगरले थापाको शालिकमाथि डोजर चलायो । स्थानीय र सरोकारवाला निकायसँग समन्वयबिना नै रातारात शालिक भत्काइएको भन्दै तत्कालीन मेयर मानबहादुर जिसीमाथि मगर समुदायसम्बद्ध संघसंस्थाले चको आलोचना गरे ।
त्यतिबेला तत्कालीन मेयर जिसीले चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक भत्काएको मेयर मानबहादुर जिसीले तर्क गरेका थिए ।
तर, नेपाल मगर संघसहितका विभिन्न जनजाति समुदायले नाराबाजीसहित चर्को विरोध गरेपछि महानगर पछि हट्यो ।
मगर संघसहितको जनजाति समुदायसँग महानगरले २४ घन्टाभित्रै त्यहाँ सहिद लखन थापाकै सालिक राख्ने सहमति ग¥यो । तर, त्यही दिन लखनको सालिक फेरि ठड्याउने महानगरको सहमतिविरुद्ध क्षत्री समाज आन्दोलित बन्यो ।
क्षत्री समाजसँग पनि जिसीले फेरि त्यहाँ कुनै सालिक नराख्ने सहमति गरे ।
एकैदिन २ थरि समुदायसँग फरकफरक सहमति गरेपछि सालिक विवाद साम्य हुनुको साटो झनै चर्कियो ।
सालिकका विषयमा दुई समुदायबीच विवाद चर्किँदै गएपछि महानगरले दुवै पक्षलाई सन्तुष्ट बनाउन पोखरा जामुनबोटमा सहिद पार्क बनाउने र पोखरा उपत्यकाभरि भएका सबै सालिक एकै ठाउँमा व्यवस्थित गर्ने उपाय निकाल्यो ।
जामुनबोटको करिब ५६ रोपनी जग्गामा सहिद पार्क बनाउने महानगरको योजना बन्यो ।
त्यसरी पोखरा उपत्यका भरिका विभिन्न चोकमा रहेका सालिक हटाउँदा आइल्यान्ड चाख्लो हुने र ट्राफिक व्यवस्थापनमा सहयोग हुने महानगरको तर्क थियो ।
उक्त योजनाअनुसार महानगरले आर्थिक वर्ष ७५/७६ बाटै बजेट विनियोजन गरेर काम अघि बढायो । तर, काम सुरु भएको ५ वर्ष बितिसक्दासमेत उपत्यका भरका सबै सालिक पूर्ण रुपमा स्थानान्तरण हुन सकेका छैनन् ।
अहिलेसम्म त्यहाँ पृथ्वीनारायण शाह, भीमसेन दाहाल, रवीन्द्र अधिकारी, योगेन्द्र शेरचनलगायतको मात्रै सालिक स्थानान्तरण गरिएको छ ।
पृथ्वीचोकबाट सालिक स¥यो, विवाद सरेन !

नामकै विषयमा राजनीतिकरण हुँदै आइरहेको पृथ्वी/लखनचोकबाट पृथ्वी नारायणको सालिक स्थानान्तरण त गरियो । तर, अझै पनि विवाद हट्न सकेको छैन ।
तत्कालीन समयमा महानगरले त्यहाँ लखन र पृथ्वीनारायण दुवैको सालिक हटाएर जामुनबोटमा राख्ने सहमति गरे पनि योजना कार्यान्वयनमा ढिलाइ गर्दा मगर समुदायले २०७५ फागुन १ गते राति लखन थापाको पूर्णकदको सालिक उभ्याए ।
पछि राष्ट्रिय प्रजातन्त्र पार्टीले लखन थापाको सालिकमुनि पृथ्वीनारायणको तस्वीर राखेको छ ।
गत पृथ्वी जयन्तीमा राप्रपा कास्कीले सालिकमुनि शाहको तस्वीर अनावरण गरेको थियो । अहिले फेरि त्यही विषयलाई लिएर विवाद सुरु भएको छ ।
बिहीबारमात्रै नेपाल मगर संघ गण्डकीले ‘लखन चोक’बाट पृथ्वीनारायण शाहको तस्वीर हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई ज्ञापन पत्र बुझायो ।

जवाफमा सिडिओ केसीले उक्त विवाद व्यवस्थापनको जिम्मेवारी महानगरको भएकाले विवाद नगरी सरोकारवाल निकायबीच आपसी समन्वयमा समस्याको समाधान गर्न सुझाव दिएका थिए ।
बनिनसक्दै जीर्ण बन्दै सहिद पार्क
बहुवर्षे योजना अन्तर्गत हालसम्म करिब ३ करोड रुपैयाँ लगानी गरिसकेको राष्ट्रिय विभूति तथा सहिद पार्कको अवस्था भने अहिले बिजोग छ ।

संरक्षणको अभावमा पार्कका संरचना भत्किन सुरु गरिसकेका छन् भने सालिकका रङ पनि उड्न लागिसकेको छ ।
०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका तत्कालीन बहालवालामन्त्री रवीन्द्र अधिकारीको सालिकमा समेत क्षति पुगिसकेको छ । उनको दाँया हातका औंलाहरु नै भाँच्चिएर गइसकेका छन् ।
पार्क व्यवस्थापनका लागि महानगरले मेयर संरक्षक र तत्कालीन मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सना सदस्य सचिव लक्ष्मण तिमिल्सना रहने गरी समिति गठन गरेको थियो । उक्त समिति मेयर जिसीको कार्यकाल समाप्तिसँगै स्वतः निष्कृय भयो ।
तर, हालको महामनगर नेतृत्वले नयाँ समिति गठन नगर्दा पार्क व्यवस्थापनमा हेल्चक््रयाइँ भएको आरोप तत्कालीन सदस्य सचिव तिमिल्सिनाको छ ।
‘अहिलेको नेतृत्वले समिति गठन गरेर संरक्षण गर्नुपथ्र्यो, ठेक्का आह्वान गरेर आम्दानी गर्नुपथ्र्यो,’ उनले भने, ‘किन समिति गठन भएको छैन, जानकारी भएन ।’
पार्क निर्माण भइसकेपछि पहिलो चरणमा पार्क अवलोकनका लागि टिकटको व्यवस्था समेत गरिएको थियो ।
अघिल्लो आर्थिक वर्षमा टिकटबाट १० लाख रुपैयाँ आम्दानी गरेको पोखरा महानगरले यसपटक ठेक्का लगाउन नसक्दा उक्त आम्दानीसमेत गुम्ने निश्चित छ ।
पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले पार्क व्यवस्थापन र योजनाअनुसार सालिक स्थानान्तरण प्रक्रियामै रहेको जानकारी दिए ।
हाल महेन्द्रपुलमा रहेको भीमसेन दाहालको सालिक सार्ने अन्तिम तयारीमा रहेको बताए ।
‘दाहालको परिवारसँग पनि सहमति लिइसकेका छौं । महेन्द्रपुलमा अब झन्डा पार्क बन्ने भएपछि केही समयभित्रै सालिक सार्छौं,’ तिमिल्सिनाले भने, ‘पृथ्वी चोकको विषयमा पनि हामी प्रक्रियामै छौं । केही समयमा टुंगो लाग्छ ।’
उनले समिति गठनको विषयमा पनि अध्ययन भइरहेको र केही समयमा कार्यपालिकाबाटै टुंगो लगाइने उनले जानकारी दिए ।
प्रकाशित मिति २०८० वैशाख २२ गते शुक्रबार ०७:१८




