२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा कार्यविभाजन हेरफेर, आज मन्त्रिपरिषद विस्तारको सम्भावना

गण्डकीमा कार्यविभाजन हेरफेर, आज मन्त्रिपरिषद विस्तारको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २९ गते शुक्रबार ०८:४९

मन्त्रालयको कार्यक्षेत्र टुंग्याएसँगै आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् । तर, कांग्रेसभित्रै अझै मन्त्रीको टुंगो लागिनसकेको सांसदहरु बताउँछन् ।

पोखरा

गण्डकी प्रदेशमा यसअघिको मन्त्रालयको कार्य विभाजन हेरफेर भएको छ । आज नै मन्त्रीपरिषद् विस्तारको सम्भावना छ ।  कार्य विभाजन हेरफेरमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आन्तरिक मामिला तथा कानुन आफैंसँग राखेका छन् । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट छुट्याएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय बनाइएको छ ।

बाँकी मन्त्रालयहरु भने उही नै रहने भएका छन् । आर्थिक मामिला, उद्योग, पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रहने छन् । मन्त्रालयको कार्य विभाजन हेरफेर गरी बिहीबार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएको हो । मन्त्रालयको नाम र संख्या आजै राजपत्रमा प्रकाशित पनि भइसकेको छ ।

मन्त्रालयको कार्यक्षेत्र टुंग्याएसँगै आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् । तर, कांग्रेसभित्रै अझै मन्त्रीको टुंगो लागिनसकेको सांसदहरु बताउँछन् ।  कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओेवादीबाट सुशीला सिम्खडा मन्त्री भइसकेपछि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे)लाई पनि फेरि मन्त्री बनाएर कांग्रेसले २ मन्त्रालयमात्र पाउँछ । माओवादीले अब एक मन्त्रालय पाउने छ ।

मन्त्रालयको संख्या ७ मात्र बन्दा मन्त्रीका आकांक्षीलाई मिलाउन मुख्यमन्त्री पाण्डेलाई सकस परिरहेको छ । माओवादी संसदीय दलले रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउने बिहीबार निर्णय गरिसकेको छ । जुग्जाली यसअघि खगराज अधिकारी सरकारमा पर्यटन मन्त्री थिए ।

नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दिपेन्द्र थापाको चर्चा छ भने लमजुङका टकराज गुरुङले पनि दाबी गरिरहेका छन् । बागलुङका डिल्लीराम सुवेदीले पनि आकांक्षा राखेका छन् । साविक धौलागिरि क्षेत्रबाट माओवादीका जुग्जाली मन्त्री हुने भएकाले लमजुङका टकराज र नवलपुरका महेन्द्रध्वज मन्त्री हुन सक्ने सम्भावना पनि बढी रहेको सांसदहरुको अनुमान छ । मुख्यमन्त्री पाण्डेले सबै टुंगो लागिसकेको भए पनि आजमात्रै सार्वजनिक गर्ने बताए ।

गण्डकीमा माओवादी–कांग्रेसको सभामुखबाहेक ३४ सदस्य छन् । दीपक मनाङे पनि गठबन्धनमै थपिएका छन् । २२ सदस्य रहेको एमाले र २ सदस्य रहेको राप्रपा प्रतिपक्षमा छ ।

प्रकाशित मिति २०८० वैशाख २९ गते शुक्रबार ०८:४९

हजुरको प्रतिक्रिया