२०८३ साउन २१ गते बिहीबार

महानगरले भर्ना गर्न लागेका करार कर्मचारीको परीक्षा स्थगित

महानगरले भर्ना गर्न लागेका करार कर्मचारीको परीक्षा स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २ गते मंगलबार ०५:१०

जेठ ६ गते लिखित, प्रयोगात्मक र अन्तर्वार्ता गर्ने कार्यतालिका रहेकोमा महानगरपालिकाले सोमबार सूचना निकालेर अर्को सूचना नआउँदासम्म परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

पोखरा । पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखाअन्तर्गत सेवा करारमा भर्ना गर्न लागिएका कर्मचारीको परीक्षा र अन्तर्वार्ता स्थगित गरेको छ ।

जेठ ६ गते लिखित, प्रयोगात्मक र अन्तर्वार्ता गर्ने कार्यतालिका रहेकोमा महानगरपालिकाले सोमबार सूचना निकालेर अर्को सूचना नआउँदासम्म परीक्षा र अन्तर्वार्ता स्थगित गरिएको जानकारी दिएको हो ।

महानगरपालिकाले गत वैशाख ११ गते ४७ जना कर्मचारी भर्ना गर्ने भन्दै सूचना निकालेको थियो । त्यसमा डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेव, अनमी, रेडियोग्राफर, आयुर्वेदका जानकार कविराजलगायत १४ पदमा ४७ जना माग गरिएको छ ।

आवेदन धेरै परेको र परीक्षा लिन व्यवस्थापकीय कामलाई समय लाग्ने भएकाले स्थगित गरिएको महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए । महानगरपालिकाले माग गरेका ४७ पदमा ६ सय जनाभन्दा धेरैले दरखास्त दिएका छन् ।

संघ र प्रदेश सरकारको कानुनअनुसार करारमा कर्मचारी भर्ना गर्न मिल्दैन । उपल्लो सरकारले बनाएको कानुनअनुसार करारमा कर्मचारी भर्ना गर्नै नपाइने भएपछि धनराज आचार्य मेयर भएर आएको एक महिनापछि गत असार २४ गते महानगरपालिकाले सेवा करारमा प्राविधिक कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ स्थानीय राजपत्रमा प्रकाशन गरेको थियो । त्यसले आफूले चाहेका कर्मचारी भर्ना गर्न रोकतोक गर्दैन । त्यसैले महानगरपालिकाले प्रदेश र संघको कानुनको बाधा हटाउन यो बाटो अपनाएको हो ।

गण्डकी प्रदेश सभाबाट गत फागुनमा पारित स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन आकर्षित हुँदा नियुक्ति दिने अधिकारीले आर्थिक भार व्यहोर्नु पर्छ । उक्त ऐनको दफा १५ को उपदफा (१)ले कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्नै नमिल्ने व्यवस्था गरेको छ । त्यसैको उपदफा २ ले ऐन विपरीत नियुक्त कर्मचारीले लिएको तलब, भत्ता र अन्य सुविधाबापतको रकम नियुक्ति गर्ने अधिकारीबाटै असुल उपर हुने व्यवस्था छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३ मा नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाइ कर्मचारी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा करारबाट लिन सकिने व्यवस्था छ । त्यसबाहेक अन्य पदमा नियुक्ति गर्न नमिल्ने उक्त ऐनले स्पष्टै व्यवस्था गरे पनि स्वास्थ्यका कर्मचारी भर्नाको तयारी छ । यी कर्मचारी सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, शिशुवा अस्पताल, स्वास्थ्य महाशाखामा ४७ जना कर्मचारी नियमविपरीत करारमा भर्ना गर्न लागेको हो ।

प्रकाशित मिति २०८० जेठ २ गते मंगलबार ०५:१०
हजुरको प्रतिक्रिया