२०८३ साउन २१ गते बिहीबार

आठ महिनादेखि ठप्प छन दोहोरी साँझहरु, करोडाै डुब्ने खतरा

आठ महिनादेखि ठप्प छन दोहोरी साँझहरु, करोडाै डुब्ने खतरा

मन क्षेत्री

@Public 4K Tv

२०७७ कात्तिक २० गते बिहीबार ०२:३१

काेभिड- १९ काे कहरले सारा विश्वसंगै नेपालकाे अर्थतन्त्रपनि नराम्ररी प्रभावित गर्यो । विशेषत् मानिसहरुकाे भिडभाड हुने व्यावसाय, उद्याेगजस्ता क्षेत्र नेपालमा पनि नराम्ररी प्रभावित बने । काेराेना संक्रमणकाे जाेखिम न्यूनिकरणका...

कलाकार पलायन र लगानी डुब्ने त्रास

काेभिड- १९ काे कहरले सारा विश्वसंगै नेपालकाे अर्थतन्त्रपनि नराम्ररी प्रभावित गर्यो । विशेषत् मानिसहरुकाे भिडभाड हुने व्यावसाय, उद्याेगजस्ता क्षेत्र नेपालमा पनि नराम्ररी प्रभावित बने । काेराेना संक्रमणकाे जाेखिम न्यूनिकरणका लागि भन्दै सरकारले गत चैत्र ११ गते देशव्यापी लकडाउनकाे घोषणा गर्याे । पटक पटकको लकडाउनले अर्थतन्त्रमा देशव्यापीअसर पुर्यायाे ।

लकडाउन खुला भएसंगै सरकारले विस्तारै सार्वजनिक यातायात, सार्वजनिक क्षेत्र तथा व्यापारिक क्षेत्रहरु खाेल्न दिने निर्णय गर्यो । जसले गर्दा मानिसहरुकाे भिडभाड हुनसक्ने सुपरमार्केटहरु लगायतका सपिङ् मल, हाेलसेल तथा खुद्रा सवै प्रकारका पसलहरु आदी बिस्तारै सुरक्षा सतर्कता अपनाएर खुल्न थाले ।  यद्यपी धार्मिक क्षेत्र, मठ मन्दिर, पुजापाठ, जात्रा र्याली जस्ता कुराहरुमा भने सरकारले हालसम्मै कडाइ गरेकाे छ । काेभिडका कारण सबैभन्दा धेरै मारमा परेकाे व्यावसाय भनेकाे मनाेरञ्जनसंग सम्वन्धित भएर सञ्चालित सिनेमा हल,  दाेहाेरी साँझ, क्लव, लगायतका मनाेरञ्जनका रात्री व्यवसायहरु हुन । यी व्यवसायहरु गत चैत्र १० देखि निरन्तर बन्द नै छन ।

पाेखरामा नियमित सञ्चालनमा रहेका २४ वटा दाेहाेरी साँझ छन । पोखराका दोहोरी साँझले विभिन्न क्षेत्र र सिपमा कार्यरत हाराहारी १ हजार कामदारकाे राेजगारी सिर्जना गरेका थिए । चैत्र १० पछि ती हजार हाराहारी मानिसकाे राेजगारी गुमेकाे छ । दाेहाेरी साँझ ठप्प छन । लाेकदाेहाेरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङ्का अनुसार काेभिडका कारण पाेखराकाे दाेहाेरी साँझमा करिब ५०० काे हाराहारीमा बाद्यबाधक र गायक गायिका गरि लाेकदाेहाेरीसंग सम्बन्धित कलाकारहरुकाे राेजगार गुमेकाे छ । उनका अनुसार दाेहाेरी साँझमा कार्यरत कुक, वेटर, सुरक्षा गार्ड, बाउन्सर, बार टेन्डर र क्यासियर गरि करिब ५०० वरपरका कलाकारीता क्षेत्रभन्दा बाहिरका मानिसकाे पनि राेजगारी गुमेकाे छ ।

काेभिडले कामदारलाइ मात्र नभएर पोखरामा दाेहाेरी साँझकाे व्यवसायमा लगानी गर्ने करिब १ सय जना लगानीकर्तालाइ समेत बेराेजगार बनाएकाे छ । निरमाया दाेहाेरी साँझका सञ्चालक समेत रहेका गुरुङ्का अनुसार अन्यत्र लगानी गर्ने वातावरण नभएकाे र भएकाे व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्थाले लगानीकर्ताहरुसमेत पूर्ण रुपमा बेराेजगार भएका छन ।

पोखराका दोहोरी साँझहरुमा हाराहारी १० देखि १२ करोड लगानी रहेको सान्नानी दोहोरी साँझका सञ्चालक तथा लाेकदाेहाेरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीका काेषाध्यक्ष जय कुमार परियारको भनाइ छ ।   “हाराहारी बर्ष दिन पुग्न आँट्यो, यो विचमा कतिपय कलाकारहरु तथा दोहोरी साँझमा कार्यरत कर्मचारीहरु बैकल्पिक पेशा व्यवसायमा लागिसके, कतिपय गाउँ गएर उतै बसेका छन् । कहिले खुल्छ कुनै टुङ्गो भएन । राज्यले पनि हाम्राेमा भन्दा धेरै मानिसहरुकाे भिडभाढ हुने भाटभटेनीजस्ता सुपरमार्केटहरु खाेल्न दिएको छ तर हामीलाइ भने कुनै सम्बोधन नै छैन ।” उनले गुनासो पोखेका छन ।

आफूहरुले सुरक्षा सतर्कता अपनाएर दोहोरी साँझ चलाउन पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएपनि कुनै सुनुवाइ नभएकाे जीवन गुरुङ्को भनाइ छ । अध्यक्ष गुरुङ् भन्छन- ‘सुनुवाइ नभएर हामीले फेरि ध्यानाकर्षणपत्र बुझायाै । छलफल सकारात्मक हुन्छ तर कुनै सम्बाेधन हुँदैन ।’

पाेखराका दाेहाेरीहरुले मासिक १५ लाख हाराहारीमा यहाँका घरधनीलाई घरभाडा बुझाउँछन । ‘भाडा बुझाएर कतिन्जेल यसरी व्यवसाय बन्द गरेर बस्न सकिन्छ ? धन्न व्यवसायीहरुको अनुरोधमा घरधनीहरुले कसिकसाउ गरेका छैनन् र केहि राहत भएको छ । कतिपय घरधनीहरुले भाडामा छुट पनि गरिदिएका छन र अहिलेसम्म जेनतेन टिकिएको छ । अब पनि यस्तै अवस्था रहे अप्ठ्यारो छ ।’ सान्नानी दोहोरीका सञ्चालक परियारले गुनासो गरे ।

पोखरामा यतिबेला प्रशासनको अनुमति बेगर फाट्टफुट्ट केहि म्युजिकल रेस्टुरेन्टहरु खुलेका छन । जीम तथा फुटसलहरुपनि खुलेका छन । अवस्था यस्तै रहे रात्री ब्यवसाय अन्तरगतका सवै ब्यवसायीहरु एक पछि अर्को गर्दै आफ्नो ब्यवसाय खोल्न बाध्य हुनेछन ।

प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार ०२:३१
हजुरको प्रतिक्रिया