पोखरा
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा सञ्चालित गौ संरक्षण केन्द्रमा भोकभोकै चौपाय धमाधम मरिरहेका छन् ।
पेटभरी घाँस पराल खान नपाएरै गौ संरक्षण केन्द्रमा ढलिरहेका गाइ गोरुको कारुणिक दृश्य देखिन्छ ।
घाँसको अभाव हुन नदिन गौ संरक्षण केन्द्रमा घाँस रोपण गरिएको छ । ‘सुशासन र सम्बृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियान’ को आयोजनामा गौ संरक्षण केन्द्रमा घाँस रोपण र सरसफाइ गरिएको हो ।
शनिबार गौ संरक्षण केन्द्रमा ५०० बढी सर्वसाधरणसँगै, सेना, राजनीतिक दलका प्रतिनिधि सहभागी भएर घाँस रोपे । यत्रतत्र छरिएका गाईगोरुको हाडखोरलाई एकै ठाउँमा जम्मा गरेर झाडी फाँडेका छन् ।
झाडी फाँडेर घाँसको विरुवा रोपेका हुन् । घाँस रोपणलाई निरन्तरता दिने सुशासन र सम्बृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शंकर पन्तले बताए ।
२०७५ सालमा छाडा पशुचौपायालाई व्यवस्थापन गर्न शुक्लागण्डकी नगरपालिकाले ४०० रोपनी क्षेत्रफललाई तारबार गरेर गौ संरक्षण केन्द्र स्थापना गरेको हो ।
बजेटको अभावमा पर्याप्त पराल खरिद नगर्दा हिउँदयाममा संरक्षण केन्द्रमा गाइ गोरु भोकभोकै मर्छन् । आहारसँगै स्वास्थ्योपचारको समेत अभाव छ ।
किसानले दुध दिन थाकेका रोगी गाई र जोत्न नसक्ने भएपछि गोरु गौ संरक्षण केन्द्रमा ल्याएर छाड्ने गर्छ । बेलाबखत दाताले नुन, चोक्करसँगै पराल सहयोग गर्छन् ।
प्रकाशित मिति २०८० जेठ ७ गते आइतबार ०२:३०




