प्रहरीको रेडिमेड जवाफः खोजि जारी छ
पोखरा
बैशाख २८ गते काठमाडौंबाट विहानै माइक्रो चढेर पोखरा निस्कन्छन् । त्यही दिन पोखरा आएर उनी विरौटास्थित फूपुको घरमा बस्छन् । बैशाख २९ गते साँझ फूपुको छोरालाई साथमा लिएर साथीको दाइको विहेको रिसेप्सन पार्टीमा निस्कन्छ । बाँस्तोलाथरको पोखरा पार्टी प्यालेसमा भएको पार्टीमा सहभागी भएर खान्छन्, पिउँछन् र रमाउँछन् । पार्टीबाट निस्किएका उनी रातारात बेपत्ता भएका छन् ।
काठमाडौंको टोखाका २८ वर्षीय विश्वास अर्याल बैशाख २९ गते देखि पोखराबाट गायव छन् । कहाँ छन्, के गर्दैछन् ? केही घटना घट्यो कि ? परिवार बेखबर छ । विश्वास हराएपछि परिवारले प्रहरीमा खोजतलास गर्न निवेदन दिएपनि अवस्था पत्ता लाग्न सकेको छैन् ।
विश्वासको बुवा राजेन्द्रबन्धु अर्यालका अनुसार विश्वाससँगै गएका फूपुका छोरा भोलिपल्ट विहान घर फर्के । पार्टीमा उनीहरुले मदिरा सेवन गरे । घर फर्कने अवस्थामा थिएनन् । ‘भान्जा बाटोमै सुते, भोलिपल्ट मात्रै घर फर्के’, उनले भने ।
छोरा नफर्केपछि राजेन्द्रबन्धु पोखरा आएर बैशाख ३१ गते प्रहरीमा जाहेरी दिएको बताउँछन् । तर, १३ दिनसम्म कुनै अत्तोपत्तो छैन । ‘अहिलेसम्म खोजतलास जारी छ । बाबु पत्ता पनि लाछैन । …अरु केहि घटना भाको भए प्रमाणित त्यस्तो आधार पनि छैन’, भावविहिल हुँदै उनले भने । सीसिटिभी फुटेज हेर्दा विश्वास पालिखेचोकबाट राती साढे १० बजे नदीपुरतर्फ गएको देखिएको बुवा राजेन्द्रबन्धुले जानकारी दिए ।

विश्वास अर्याल
‘दुईटा केटाले उसलाई घेलेर लगेको देखिन्छ । त्यसपछि नदीपुर पुलमा उस्को मोबाइल ट्रयाप हुन्छ, नदीपुरको माथिल्लो पहेंलो पुलमा । नदीपुरमै मोबाइल खोसिएपछि भेट्छु कि भनेर हेर्न आको जस्तो देखिन्छ’, सीसिटिभी फुटेजमा देखिएको दृश्यबारे उनले भने ।
‘मोबाइल पर्स लुटिएपछि उस्ले तलतिर गाछन कि भनेर तल जान्छ । तल्लो पुलमा गएपछि लुटेराहरु देख्दैन’, दृश्यबारे उनले अनुमान लगाउँछन् । करिब १२ बजेको समयमा वडा कार्यालय नजिकै सीसिटिभी फुटेजमा देखिएका विश्वास त्यहाँबाट कता गए पत्तो नपाएको बुवा राजेन्द्रबन्धुले बताए ।
पार्टीले प्यालेस र विश्वासलाई पार्टीमा बोलाउनेले १२ बजेसम्म विश्वासले देखेको बताउने अर्यालले सुनाए । ‘जसले निमन्त्रणा गरे उनीहरुलाई किन मेरो बाबु यसरी हरायो त भनेर सोध्दा हामीले बस्नुस भनेको मान्नुभएन । साथी लिन आउँछ भन्नुभो । खानुभाथ्यो…. । हामी पनि व्यस्त भएम भन्नुहुन्छ । अलिकति जवाफदेहिताबिनाको जवाफ आउँछ’, उनले भने । पार्टीमा बोलाएर बेसहारा बनाएर छाडेकाले छोरा हराएको उनको जिकिर छ ।
विश्वासको मोबाइल लुट्ने २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । विश्वास वेपत्ता प्रकरणबारे उनको रेडिमेड जवाफ छ, ‘अहिलेसम्म भेटिएको छैन । खोजि जारी छ । विभिन्न हिसाबले अनुसन्धान गरिरहेका छौं ।’ वेपत्ता विश्वासको अवस्था पत्ता लगाउने कोशिष जारी रहेको उनले दाबी गरे ।
जिल्ला प्रहरी कार्यालयले कास्कीले जेठ १ गते नदीपुरको पहेंलो पुलको मुनी विश्वास खसेको आशंकामा दिनभर खोजतलास ग¥यो । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसको टोलीले सेती नदीको खोंचमा खोज्दा उनी भेटिएनन् ।
प्रकाशित मिति २०८० जेठ ११ गते बिहीबार ०२:०७



