२०८३ साउन २१ गते बिहीबार

अनिवार्य स्तनपानः प्रजनन स्वास्थ्य अधिकार

अनिवार्य स्तनपानः प्रजनन स्वास्थ्य अधिकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १६ गते मंगलबार ०८:०९

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा प्रसूति बिदाको अधिकार छ । जसमा सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ भनि उल्लेख छ ।

नेपालमा घट्दै पूर्ण स्तनपान गराउने दर

पोखरा

पोखरा नयाँबजारकी सुष्मिता ठकुरी दुई वर्ष अघि पहिलो पटक आमा बनिन् । एक निजी कम्पनीमा उनी जागिरे थिइन् । सुत्केरी भएलगत्तै उनी विदामा बसिन् । छोरी दुई महिना पुग्नेबित्तिकै उनी काममा फर्कनुपर्‍यो । छोरीलाई स्तनपान गराउन दिनमा दुईपटक घर आउ जाउ गर्थिन् । ठकुरी सम्झिदैं भन्छिन्, ‘साह्रै गाह्रो थियो घर चलाउनु पर्ने भएकाले छुट्टि लिन मिलेन । काम छाड्ने अवस्था थिएन । मिलाएर नानीलाई दुध खुवाउन आउथे ।’

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा प्रसूति बिदाको अधिकार छ । जसमा सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ भनि उल्लेख छ । साथै बिदा अपुग भए चिकित्सकको सिफारिसमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकार पनि छ । सरकारी र गैरसरकारी संस्थामा नियम लागू भएपनि निजी संघसंस्था कम्पनीमा भने यो प्रभावकारी रुपमा लागू हुन सकेको छैन । श्रम ऐन, २०७४ ले गर्भवती महिला श्रमिकलाई प्रसूति अघि वा पछि १४ हप्ताको प्रसूति विदाको साथै प्रसूति हुने सम्भावित मितिभन्दा कम्तीमा २ हप्ता अगाडि देखि प्रसूति भएको कम्तिमा छ हप्तासम्म अनिवार्य रुपमा बिदा बस्ने व्यवस्था गरेको छ ।

स्तनपान महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसँग जोेडिएको विषय हो । स्तनपानले बच्चाको जन्मान्तरम सहयोग पुर्‍याउनुको साथै महिलाको प्रजनन स्वास्थ्यका अन्य पक्षहरूमा समेत सकारात्मक प्रभाव पार्छ । लामो अवधिसम्म स्तनपान गराउँदा यसले क्यान्सरको जोखिम गर्नुको साथै पाठेघरको क्यान्सर र टाइप २ मधुमेह विरुद्ध सम्भावित सुरक्षाहरू प्रदान गर्ने कुरा विभिन्न अध्ययनहरुले उजागार गरेको छ । स्तनपान महिला र बालबालिका दुवैको मान्यता प्राप्त मानवअधिकार हो जुन अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी विभिन्न दस्तावेजहरूमा सम्मिलित छ । यसमा महिलाको रोजगारीको सन्दर्भमा मानव अधिकारका साथै उनीहरूको स्वास्थ्य र पोषण अधिकारहरू, गर्भवती र स्तनपान गराउने आमाहरू, शिशुहरू र साना बालबालिकाहरूका लागि विशेष अधिकारहरू समावेश छन् ।

बच्चालाई स्तनपान गराउँदै एक आमा

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकीका सचिव डा. विनोद विन्दु शर्माले स्तनपान र सुत्केरी विदाका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताए । उनले प्रदेशभरका निजामती महिला कर्मचारीका लागि ६ महिने सुत्केरी बिदाका लागि योजना बनिरहेको जानकारी दिए । उनले भने, ‘अहिले ९८ दिन छ । यसलाई नै बढाउँदै निजामती कर्मचारीको कम्तीमा ६ महिना सुत्केरी विदा हुनुपर्ने नियम बनाउने योजना बनिरहेको छ ।’

त्यसो त, सरकारले तोकेको ९८ दिनको तलबसहितको बिदा पनि कम रहेको आमाहरुको गुनासो छ । पोखरामा रहेकी निजामती कर्मचारी निर्मला शर्मा दोस्रो पटक आमा बनेको ७ महिना पुग्यो । उनले मातृत्व र स्तनपानको विषय निकै संवेदनशील र गम्भीर भएको बताइन् । शर्माले आमाका लागि ९८ दिनको बिदा मात्र पर्याप्त नहुने बताइन् । उनले शल्यक्रियाबाट बच्चा जन्माउनुपर्ने आमाका लागि झन् यो बिदा अपुग छ । उनले भनिन्, ‘मेरो सिजिरियनबाट बच्चा भएको हो । मलाई यो शल्यक्रियाबाट सन्चो हुन नै समय लाग्यो । ९८ दिनको छुट्टिमात्र बसेर काम गर्न पुनः जान सक्ने अवस्थामा थिइन । त्यसैले फेरि ६ महिना बेतलबी बिदामा बसेको छु । आमाका लागि कम्तीमा ६ महिना बिदा आवश्यक छ ।’

स्वास्थ्य निर्देशनालय गण्डकीकी जनस्वास्थ्य अधिकृत रविना ठगुन्नाले निजामती कर्मचारी र गैरसरकारी संस्थाका कर्मचारीको हकमा सुत्केरी विदा सजिलो गरि नै पाइए पनि निजी क्षेत्रमा कार्यरत महिलाहरुले आमा बनेकै कारण केहीले काम छाड्नुपर्ने, केहीले बच्चाको स्तनपान छुट्टाउनुपर्ने बाध्यता रहेको सुनाइन् ।

आमाको दुध पोषिलो भएकोले बच्चाका लागि २ वर्षसम्म स्तनपान गराउनु उपयुक्त हुने बताइन् । उनले भनिन् –‘ आमाको दुध प्राकृतिक रुपमा नै पोषणले भरिएको हुन्छ । बच्चाको वृद्धि विकास, प्रतिरोधात्मक क्षमता बढाउन आमाको दुध बच्चाका लागि अमृत हो । त्यसमा पनि २ वर्षसम्म खुवाउनु राम्रो हो ।’ तर स्तनपान गराउने महिलाको संख्या पछिल्लो समय घटेकोमा उनी चिन्तित छिन् ।

नेपालमा घट्दै पूर्ण स्तनपान गराउने दर

प्रत्येक ५ वर्षमा गरिने नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले महिलाले स्तनपान गराउने दर पछिल्लो २६ वर्षमा १९ प्रतिशतले घटेको देखाउँछ । सन् १९९६ मा पहिलो पटक गरिएको सर्वेक्षणमा स्तनपान गराउनेको दर ७५ प्रतिशत थियो । त्यसपछि सन् २००१ मा यो दर घटेर ६८ प्रतिशत, सन् २००६ मा घटेर ५३ प्रतिशत, सन् २०११ मा बढेर ७० प्रतिशत, सन् २०१६ मा ६६ प्रतिशत र सन् २०२२ मा गरिएको सर्वेक्षणमा यो दर घटेर ५६ प्रतिशत पुगेको छ ।

यो तथ्यांकले नेपालमा स्तनपान गराउनेको दर घट्दो क्रममा रहेको देखाँउछ । स्तनपानको महत्वबारे पूर्ण रुपमा जानकार नहुनु, पछिल्लो समय कामकाजी महिलाको संख्या बढ्नु, बजारमा पाइने फर्मुला दुधमा भर पर्नु, सुन्दरतामा कमी आउने लगायतका प्रचारले नेपालमा स्तनपानको दर घटेको विज्ञहरु बताउँछन् ।

गण्डकी प्रदेशमा यस आर्थिक वर्ष ७९-८० मा बच्चालाई ६ महिनासम्म स्तनपान गराउने दर ५०.६ प्रतिशत छ । अघिल्लो वर्ष अर्थात् ०७८-७९ मा ४७.६ प्रतिशत, ०७८-०७७ ५६.२ प्रतिशत, २०७७-०७६ मा ३९.६ प्रतिशत र ०७५-०७६ मा जम्मा ३४.७ प्रतिशत छ । गण्डकी प्रदेशको तथ्यांकले वि.सं २०७५ बाट २०७७ सम्म आउँदा बच्चालाई ६ महिना पूरा स्तनपान गराउनेको दर बढेको देखाँउछ । तर त्यसयता भने यो दर ६ प्रतिशतले घटेको छ ।

नवजात शिशुलाई अनिवार्य ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने स्वास्थ्य विज्ञको जोड छ । ६ महिनासम्म बच्चा आमाको दुधमा मात्र निर्भर रहने भएकाले स्तनपान ६ महिनासम्म अनिवार्य रहेको बताउँछन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. राजेश अधिकारी । उनले भने, ‘६ महिनापछि अरु ठोस खानेकुरा बच्चालाई दिन मिल्ने हुन्छ तर त्यो भन्दा अघि बच्चा आमाको दुधमा नै निर्भर हुने हो । त्यसैले पनि ६ महिनासम्म आमाको दुध अनिवार्य हुन्छ ।’

सुत्केरी विदा र आमाको स्वास्थ्य

पोखरा नदिपुरकी क्षमता खड्का ९ महिना अघि आमा बनिन् । पोखराको एक गैरसरकारी संस्थामा कार्यरत उनले सुत्केरी बिदाबारे आफ्नो अधिकारको प्रयोग गर्दा हिचकिचाहट महसुस गरिन् । उनले भनिन्, –‘महिला अधिकारमा लामो समय काम गरेको छु तर जब आफैंलाई आइपर्‍यो, बिदा बस्ने आफ्नो अधिकारको प्रयोग गर्दा पनि अरु प्रति धेरै कृृतज्ञ बन्न मन लाग्ने भयो । जब कि त्यो मेरो अधिकार हो ।’

क्षमता खड्का आफ्नो छोरासँग

विदाको ३ महिनामा नै उनी काममा फर्किन् । त्यसपछि अफिसमा आफू बोझ भए छु कि भन्ने कुराले लामो समय सतायो । उनले सुनाइन्, ‘संस्थाले छुट्टि दियो, ब्रेस्ट फिडिङका लागि अहिले पनि समय दिन्छ । अफिस यति सजिलो बनिदियो । कतै म अफिसको लागि बोझ पो भएको छु कि,मैले अफिसलाई त्यसको रिटर्न दिन सकिरहेको छैन कि भन्ने कुराले सतायो । ’

महिला अधिकारको क्षेत्रमा लामो समय काम गरेकी उनले पछिल्लो समय महिलाहरु आत्मनिर्भर बन्दै गएको बताइन् । उनले एक आत्मनिर्भर महिला आमा बन्ने अवस्थामा जाँदै गर्दा उसमा मानसिक, शारीरिक, भावनात्मक रुपमा थुप्रै परिवर्तन आउने बताइन् । यस्तोमा उ कार्यरत संस्थाले आमा बन्न लागेकै कारण कामबाट निकाल्ने अथवा तोकिएको तलबी विदा नदिने हो भने उसको सशक्तीकरण हुने प्रक्रियाको चक्र नै वादित हुने बताइन् ।

पोखरा सिर्जनाचोक बस्ने सुकृति पन्तकीे छोरी १० महिनाकी भइन् । उनले महिलाका लागि आफ्नो बच्चासँग समय बिताउनु पनि महत्वपूर्ण रहेको बताइन् । गर्भवती हुनु, बच्चा जन्माउनु र बच्चालाई हुर्काउनु एक संवेदनशील प्रक्रिया भएका कारण यसमा आमाको शारीरिक, मानसिक स्वास्थ्य जोडिने उनले जिकिर गरिन् । उनले भनिन्, ‘कामबाट महिलाले सुत्केरी बिदा पाउनु भनेको छुट्टि मनाउनका लागि होइन । एक आमा र शिशुको स्वास्थ्यको लागि आवश्यक हुने भएकाले ६ महिनासम्म कम्तिमा बिदा पाउनु आमाको पनि अधिकार हुन्छ ।’

पत्रकार उमा आलेमगरले गर्भवती भएको ८ महिनासम्म काम गरिन् । निरन्तर फिल्ड रिपोर्टिङमा हिड्ने उनी हिडिन् । सुत्केरी हुन एक महिनामात्र बाँकी हुँदा नेपालमा कोभिडको महामारी सुरु भयो । महामारीले उनको जागिर गुम्यो र उनी घरमा नै बसिन् । मगर सुत्केरी हुनु र कोभिडले लकडाउन हुनु एकैपटक भयो जसले गर्दा उनलाई आफ्नो छोरीसँग समय बिताउने पर्याप्त समय त दियो तर लामो समय काम गर्न नपाउँदा उनलाई छटपटि भने हुन्थ्यो । उनले भनिन्, ‘लकडाउन पनि हुनु र अनि डेलिभरी हुने टाइमले गर्दा काम छोड्नुप¥यो । कोभिड नभएको भए अलि चाँडै काममा फर्किन्थे । २ वर्षसम्म काम नै नहुँदा भने असर पर्‍यो ।’

उमा आलेमगर आफ्नी छोरीसँग

गैरसरकारी संस्थामा कार्यरत अन्जली राई (नाम परिवर्तन) ले सुत्केरी हुँदाको समय महिलाको स्वास्थ्य अवस्था पनि ख्याल गर्नुपर्ने संवेदनशिलसमय रहेको बताइन् । बच्चालाई स्तनपान गराउनु महत्वपूर्ण पाटो भएसँगै आमा स्वस्थ भएर पुनः काममा फर्किन तयार बनाउने समय भएको उनले सुनाइन् । उनको अहिले एक वर्षको बाबु छ । सुत्केरी हुनुअघि उनले ९८ दिनको बिदा मात्र लिने सोचेकी थिइन् तर बच्चा भइसकेपछि आफ्नो मानसिक स्वास्थ्यका लागि उनी थप बिदामा बसिन् । उनले भनिन्, ‘बिदाबाट फर्किएपछि केही समय काममा आउन गाह्रो भयो तर बच्चालाई पूर्ण रुपमा समय दिन पाएकोमा सन्तुष्ट छु । अहिले काममा राम्रोसँग नै फर्केको छु ।’

सुत्केरी अवस्थामा आमा र शिशु दुवैको स्वास्थ्य अवस्था महत्वपूर्ण हुन्छ । आमा स्वस्थ हुँदा शिशु पनि स्वस्थ रहने स्त्री रोग विशेषज्ञ डा. अधिकारीले बताए । –‘यसका लागि आमाले आराम गर्नु, शिशुको स्याहार गर्नु र परिवारका अन्य सदस्यले सहयोग गर्नु आवश्यक हुन्छ ।’

आमाका लागि आवश्यक स्तनपान कक्ष

काठमाडौँ संसद भवनमा महिला सांसदहरुले स्याहार कक्षको माग राखेपछि अहिले संसद भवनको एउटा कोठामा बच्चाको स्याहार कक्ष राखिएको छ । यस अघि सांसदहरु आफ्नो बच्चा काखमा च्यापेर नै संसद भवन आउथे । बच्चालाई भित्र जाने अनुमति नभएपछि बाहिर नै कसैले हेरिदिनुपर्ने अवस्था हुन्थ्यो । तर संसदमा बच्चालाई हेर्ने किसिमको कुनै व्यवस्था नहुँदा आमा बनेका सांसदहरुले समस्या झेल्नुपर्‍यो ।

संसदको अवस्थाले नै पुरा देशको स्थिति आकलन गर्न सकिन्छ । सार्वजनिक स्थल, सरकारी कार्यालयमा एक आमा पुग्दा बच्चाका लागि आवश्यक स्तनपान कक्ष, स्याहार कक्ष नहुँदा आमाहरु तनावको अवस्थाबाट गुज्रन बाध्य छन् । पोखरा पस्र्याङकी सिर्जना खड्का आफ्नो ८ महिने छोरी बाहिर लिएर प्राय जाँदिनन् । जानै परेमा उसलाई स्तनपान गराएर, उसको दिसापिसाब गरेको कपडा फेरेर छोटो समयका लागि मात्र जान्छिन् । उनलाई कतै जाँदा यहि कुराले नै प्राय सताँउछ ।

अस्पताल, एयरपोर्टलगायतका केही ठाउँमा स्तनपान कक्ष भनेर छुट्टै कक्ष आमाका लागि बनाइएको छ तर पनि अझै पर्याप्त भने नभएको आमाहरुको गुनासो छ । सरकारी कार्यालय, सार्वजनिक स्थलहरुमा आमाका लागि छुट्टै स्तनपान कक्ष बन्न सकेको छैन ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकीका सचिव डा. शर्माले सरकारले स्तनपानलाई संवेदनशील रुपमा लिएको बताउँदै प्रदेश भरका मन्त्रालयहरुमा छुट्टै स्तनपान कक्षको स्थापना गरिएको बताए । उनले मन्त्रालयमा मात्र नभएर पालिकादेखि हरेक सरकारी कार्यालयहरुमा पनि स्तनपान कक्षको स्थापनाका लागि प्रदेश सरकारले योजना बनाइरहेको जानकारी दिए ।

स्तनपान कक्षले बच्चालाई स्तनपान गराउन, उसको कपडा फेर्नका लागि आमालाई सहज र सुरक्षित हुने बताउँछिन् , जनस्वास्थ्य अधिकृत रविना ठगुन्ना । त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशका विभिन्न सार्वजनिक स्थलहरुमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ कर्नर) स्थापना गर्ने तयारी गरिरहेको उनले जानकारी दिइन् ।

सुत्केरी बिदा ६ महिना

‘बच्चालाई कम्तीमा ६ महिना आमाको दुध दिनु अमृतपान हो’ भन्ने नारा दिएर सरकारले अभियान चलाएको छ भने अर्को तर्फे सुत्केरी आमाका लागि ९८ दिन अर्थात् तीन महिनाको बिदा दिनुले सरकारको आफ्नै निति तथा कार्यक्रम नै बाझिएको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्म नेपालले स्तनपान गराउनेको संख्या ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । अब ७ वर्षमा नेपालले स्तनपान दर ५६ प्रतिशतबाट ९० मा पु¥याउनु पर्ने आवश्यक छ । हालै मात्र सरकारले घट्दो स्तनपानको दरप्रति संवेदनशील हुँदै सुत्केरी विदा ६ महिना पुर्‍याउने तयारी गरेको छ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १३ को प्रसूति बिदाको अधिकारलाई संशोधन गर्ने तयारी गरेको हो । यसले पूर्ण स्तनपानको दर केही बढ्न सक्ने अपेक्षा छ ।

सांसद विद्या भट्टराईले आमाले बच्चालाई स्तनपान गराउने विषय राज्यको प्राथमिकतामा हुनुपर्नेमा जोड दिइन् । उनले स्तनपान गराउनु र सुत्केरी विदा पाउनु महिलाको प्रजनन हक अधिकार नै भएको बताइन् । उनले आमालाई कम्तिमा ६ महिना स्तनपानका लागि बिदा हुनुपर्ने बताइन् । उनले भनिन्, ‘बच्चाका लागि ६ महिनासम्म स्तनपान गराउनु आवश्यक छ । सुत्केरी विदा लामो समय हुँदा महिला अवसरबाट वन्चित हुने बहस पनि सुनिन्छ । तर त्यसको सदुपयोग कसरी गर्ने भन्ने बारे छलफल गर्नुपर्छ । ’

सांसद विद्या भट्टराई

आमा बन्नु महिलाको अधिकार भएको सुनाउँदै सांसद भट्टराईले त्यस अधिकारको संरक्षण र सुरक्षाको जिम्मेवारी राज्यको हुने बताइन् । ‘आमा बन्नु महिलाको अधिकार हो । यस अधिकारलाई संरक्षण गर्ने राज्यको जिम्मेवारी हो र यसमा राज्य गम्भीर र संवेदनशील बन्नुपर्छ’, उनले भनिन्, ‘जहाँ आमा हुन्छ, त्यहाँ बच्चाको स्याहार आवश्यक हुन्छ । र आज बच्चाको विषयमा ध्यान दिइएन भने भोली गएर देशको पुस्ता राम्रो बन्न सक्दैन ।

प्रकाशित मिति २०८० जेठ १६ गते मंगलबार ०८:०९

हजुरको प्रतिक्रिया