पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको संसद बैठकमा २ सय ४१ बुँदाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रलाई प्रदेश मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न संघ सरकारसँग समन्वय गर्ने, पोखराको पुरानो विमानस्थललाई प्रदेश मातहत ल्याउन पहल गर्ने नीति प्रदेश सरकारको छ ।
१० वर्षमुनिका नागरिक र ६० वर्ष माथिकालाई प्रदेश सरकार मातहतका अस्पतालमा ओपीडी सेवा र प्रयोगशाला परीक्षण निशुल्क बनाउने घोषणा प्रदेश सरकारले गरेको छ । भरतपुर क्यान्सर अस्पताल र अन्य सरकारी स्वास्थ्य संस्थासँग सम्झौता गरेर सबै खालको क्यान्सरको उपचारमा एक लाख रूपैयाँसम्म आर्थिक सहायता दिने प्रदेश सरकारको योजना छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभियान चलाएर गण्डकीलाई ‘संस्थागत सुत्केरी प्रदेश’ बनाउने नीति प्रदेशले लिएको छ ।
बाल अस्पताल सञ्चालन गर्न साझेदारी गर्ने, प्रदेशभित्रका संग्रहालयलाई पर्यटकीय गन्तव्य बनाउने, खेलाडी उत्पादनमा स्थानीय तहसँग समन्वय गर्ने, रोजगार मेला आयोजना गर्ने, मुस्ताङमा हाइ–अल्टिच्युड खेल मैदान बनाउने योजना प्रदेश सरकारको छ ।
संघ सरकारले आगामी आर्थिक वर्षमा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । संघ सरकारको त्यही नीतिलाई गण्डकी प्रदेश सरकारले पनि समेटेको छ र अध्ययन गरेर कानुन बनाउने घोषणा गरेको छ ।
अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत गण्डकीले संघ सरकारबाट १३ अर्ब ६० करोड २३ लाख रुपैयाँ पाएको छ । चालु आर्थिक वर्षलाई ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको सरकार यसपटक अनुदान घटेपछि बजेटको आकार घटाउनुपर्ने बाध्यतामा छ । प्रदेश सरकारले आगामी असार १ गते ३३ अर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
प्रकाशित मिति २०८० जेठ २१ गते आइतबार ०५:०१




