एजेन्सी । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति पदमा विजयी भएका छन् । बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।
पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुग्छ । बाइडेनका निकटतम प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा भने २१४ इलेक्ट्रोरल मत प्राप्त भएको छ । पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ ।
सन् १९७२ मा डेलवेरबाट सिनेटर निर्वाचित हुँदा जो बाइडेन केवल २९ वर्षका थिए । तत्कालीन अमेरिकी सिनेटका कान्छा सदस्यलाई ह्वाइट हाउसको ढोका खोल्न थप ४८ वर्ष लाग्यो । जतिबेला २० जनवरीमा राष्ट्रपतिको सपथ हुनेछ, त्यतिबेला बाइडेन ७८ वर्ष पुगिसकेका हुनेछन् । अमेरिकी इतिहासमा बाइडेनजत्तिको पाको उमेरमा कोही पनि राष्ट्रपति निर्वाचित भएको छैन ।
कोरोना नियन्त्रणका लागि राष्ट्रव्यापी परीक्षण र ट्रेसिङ कार्यक्रम, रोजगारीमा न्युनतम आय बढाउने, साना उद्योगहरुलाई दिइने ऋण बिस्तार गर्ने, न्याय प्रणालीमा सुधार ल्याउने, अल्पसंख्यक समुदायका लागि व्यवसायमा सहयोग गर्ने, हरित उर्जामा लगानी बढाउने, पेरिस जलवायु सम्झौतामा पुनरागमन गर्ने, नाटो गठबन्धनलगायत मित्रशक्तिसँग बिग्रिएको सम्बन्ध सुधार्ने, ओबामा केयरलाई बिस्तार गर्ने, आप्रवासीहरुप्रति उदारता देखाउने लगायतका विषयलाई चुनावी मुद्दा बनाएका बाइडेनलाई अमेरिकी जनताहरुले इतिहासमै सबैभन्दा धेरै मत खसालेका छन् । (यद्यपि, अमेरिकी राष्ट्रपतिको चयन लोकप्रिय मत नभएर इलेक्टोरल कलेजका आधारमा हुन्छ र आवश्यक २ सय ७० इलेक्टोरल मत पुुर्याइसकेका बाइडेनले २ सय ९० देखि ३ सय ६ मत ल्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रक्षेपण छ ।
प्रकाशित मिति २०७७ कात्तिक २३ गते आइतबार ०६:५९




