पोखरा
बुधबार विहान पोखरा रंगशालाको फुटबल स्टेडियम भरिभराउ थियो । रंगशालामा कुनै फुटबल प्रतियोगिता भइरहेको थिएन ।
सेतो पोशाक लगाएका बालकदेखि वृद्धसम्म योगा आसनमा व्यस्त थिए । भारतीय पर्यटकसँगै तेस्रो मुलुकबाट पोखरा घुम्न आएका पर्यटक पनि योग अभ्यास गर्दै थिए ।
सयौं पोखरेलीसँगै पर्यटक एउटै थलोमा भेला भएर थरिथरिका योग आसन गर्ने तारतम्य भारतीय दूतावासले मिलाएको हो ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दूतावासले योग शिविर सञ्चालन गरेको थियाे ।
शिविरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायत सहभागी थिए ।
मुख्यमन्त्री पाण्डे र मेयर आचार्यले त केहीबेर योग अभ्याससमेत गरे ।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्ध हिमालझैं उचो भइरहेको बताए । उनले मनोरम प्राकृतिक दृश्यमा रमाउँदै योगा गर्न भारतीयलाई नेपाल घुम्ने निम्तो पोखराबाटै बाँडेका छन् ।
‘योग विश्वभर साझा ज्ञानको रुपमा विस्तार भइरहेको छ । संसारमा यो मानव समुदायमा लोकप्रिय हुँदै गएको कुरा हामी सबैलाई ज्ञातै छ’, मन्त्री किरातीले भने, ‘योगा गर्न प्रकृतिको मनोरम दृश्य हेर्न भारतका आदरणीय दिदीबहिनी दाजुभाइहरुलाई हार्दिक निम्तो गर्दछौं ।’
मन्त्री किरातीले फरक प्रसंगमा हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको दाबीसमेत गरे ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल भारत सदियौंदेखि एउटै सभ्यता र दर्शनबाट अगाडि बढिरहेको बताए । योग नेपाली पुर्खा र ऋषिमुनिले पूर्वीय दर्शनका रुपमा लिएको बताए ।
अहिले पश्चिमा दर्शनमा पनि योग प्रचलित हुँदै गएको मुख्यमन्त्री पाण्डेले बताए ।
गण्डकीका धार्मिकस्थललाई योग साधनाका केन्द्र बनाउने लक्ष्य प्रदेश सरकारले लिएको उनले सुनाए ।
‘हाम्रा धार्मिक धामहरु जो गण्डकी प्रदेशमा छन्,’ मुख्यमन्त्री पाण्डेले भने, ‘ती धामहरुलाई योगको साधनास्थलको रुपमा परिणत गर्दै अगाडि बढ्ने हाम्रो सरकारले लक्ष्य लिएको छ ।’
योगको माध्यमबाट पोखरामा भारतीय पर्यटकको संख्या बढाउन सकिने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताए । पोखरालाई योग केन्द्रका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
‘पोखराको साथ सम्बन्ध काफी पुरानो हो । भारतका विभिन्न शहरदेखि समय बिताउन मान्छेहरु पोखरा आउँछन्,’ उनले भने, ‘बिहान मात्रै थाहा भो अहिले पनि सबैभन्दा धेरै पर्यटक पोखरामा आइरहेका छन् ।’
सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । पछिल्लो समय नेपालमा पनि योगप्रति आकर्षण बढिरहेको छ । योगको विस्तार गर्दै जाने हो भने भारतीय पर्यटकको संख्यामा पनि बढोत्तरी देखिन्छ ।
योगले भारतीय धार्मिक पर्यटक बढाउने पर्यटनकर्मीको अपेक्षा छ ।
प्रकाशित मिति २०८० असार ६ गते बुधबार ०७:५१




