स्थानीयले बुझाए ज्ञापनपत्र
पोखरा
पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखराखण्डको निर्माणमा ढिलासुस्ती हुँदा दैनिक दुर्घटना बढेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका छन् । पोखरा वडा नं. १ र २५ का जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि भएर आइतबार सिडिओ बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
लोकमार्गअन्तर्गत पोखरा वडा नं. १ देखि पोखरा २५ जोड्ने सडकखण्ड निर्माणमा हेलचक्य्राइँ गर्दा दैनिक अंगभंग हुने गरी दुर्घटना बढेको ज्ञापन पत्रमा उल्लेख छ । लोकमार्गअन्तर्गत पोखरा हरिचोकदेखि याम्दीसम्म २२ सय मिटर दूरी सडकखण्ड निर्माणका क्रममा न्यूनतम सुरक्षाका मापदण्डसमेत नअपनाइएकाले खाल्डाखुल्डी बढेको पोखरा स्थानीयको भनाइ छ ।
आफूहरुले पटकपटक लोकमार्ग आयोजना र निर्माण व्यवसायीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको ज्ञापनपत्रमा उल्लेख छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त सडकखण्ड बनाउन मोतिदान कन्स्ट्रक्सनले ठेक्का पाएको छ । २ वर्षभित्र सक्ने गरी गतवर्ष आयोजनासँग निर्माण कम्पनीले सम्झौता गरेको थियो ।
तर, निर्माण सुरु भएको १ वर्ष बितिसक्दासमेत करिब २५ प्रतिशतमात्रै भौतिक प्रगति भएको पुष्पलाल मध्यपहाडी लाकमार्ग आयोजनाका इन्जिनियर ठाकुर भण्डारीले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै सिडिओ बासुदेव घिमिरेले आयोजनालाई समयमै काम सक्न र बर्खा अवधिका लागि ग्राभेल भरेर सडक सुरक्षित बनाउन निर्देशन दिएका छन् ।
उनले उक्त सडकखण्डले पोखरेलीमात्रै नभएर पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङबासीलाई समेत असर गर्ने भएकाले सडक सुरक्षामा ध्यान दिन आग्रह गरे ।
प्रकाशित मिति २०८० असार ३१ गते आइतबार ०३:३५




