पोखरा
गण्डकी प्रदेश सरकारले खडा गरेका आयोग, बोर्ड तथा प्रतिष्ठानजस्ता निकायहरु आफैंलाई बोझ बनेको छ । संघीयताको छैठौं वर्षसम्म आइपुग्दा गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले विभिन्न समयमा गठन संरचनाले भूमिका देखाउन नसकेको भन्दै अहिलेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे खुसी छैनन् ।
दूग्ध विकास बोर्ड, ताल प्राधिकरण, प्रज्ञा प्रतिष्ठान, प्रदेश खेलकुद परिषद्, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानजस्ता संरचनाले भूमिका देखाउन नसकेको र कार्यकर्ता नियुक्ती गर्ने थलोमात्रै भएको आवाज उठ्दै आएको छ । सरकार आफैंले विभिन्न समयमा गठन गरेका यस्ता संरचनाहरुको मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुनर्मूल्यांकन गर्ने भएका छन् ।
मुख्यमन्त्री पाण्डेले बजेटमै यस सम्बन्धमा उल्लेख गर्न चाहेको तर अध्ययन समिति बनाएर काम गर्ने योजनासहित रोकिएको बताए । मुख्यमन्त्री पाण्डेले विभिन्न समयमा गठन भएका यस्ता संरचनाहरुको पुनमूल्यांकन गर्न पूर्व सचिवको नेतृत्वमा समिति बनाउने बताएका छन् । यस्ता संरचनाले चालु खर्चमात्रै बढाएको तर प्रभावकारी भूमिका देखाउन नसकेको निश्कर्ष मुख्यमन्त्री पाण्डेको छ ।
यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले जाँदाजाँदै दूग्ध विकास बोर्डमा एमाले नेता तथा पूर्व संघीय सांसद तिलक महतलाई उपाध्यक्ष बनाए । तर, त्यसको अहिलेसम्म कार्यालयसमेत छैन भने के काम गर्ने भन्ने एकीनसमेत छैन । स्याङ्जाको फेदीखोलामा प्राविधिक शिक्षालय बनाउने भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान गठन गरेर डा. सोमनाथ सापकोटालाई प्रमुख कार्यकारी नियुक्त गरे । प्रतिष्ठानको कार्यालय अहिले ड्यामसाइडमा भाडाको घरबाट चलिरहेको छ । तर, प्रतिष्ठानप्रति पनि मुख्यमन्त्री पाण्डे खुसी छैनन् ।
पृथ्वीसुब्बा गुरुङकै पालामा गठन भएको ताल प्राधिकरणमा पनि नियुक्ती खानेबाहेक उल्लेख्य काम देखाउन सकेको छैन । पृथ्वीसुब्बा नेतृत्वको सरकारबाट नियुक्त भएका अनुप गुरुङले राजीनामा दिएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कल्पना देवकोटालाई कार्यकारी निर्देशक नियुक्त गरेका छन् । देवकोटाकै अनुसार कार्यकारी समिति बनाउने र लेक कन्फ्रेन्सबाहेक अरु काम गर्न सकेको छैन । यस्ता संरचनाको पुनर्मूल्यांकन गरी प्रभावकारी बनाउने कि हटाउने भन्ने निर्णय गर्ने योजनामा मुख्यमन्त्री पाण्डे छन् ।
प्रकाशित मिति २०८० साउन २२ गते सोमबार ०८:३१




