पोखरा
विगत ११ दिनदेखि नउठेको पोखरा महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ । संकलन गरिएको फोहोर पोखरा ३२ लामेआहाल रहेको अस्थायी ल्यान्डफिलमा लगेर व्यवस्थापन गरिने भएको हो । अस्थायी ल्यान्डफिलमा फोहोर फाल्न स्थानीयको अवरोध गरेपछि फोहोर उठन सकेको थिएन ।
कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले आजदेखि फोहोर व्यवस्थापन लामेआहालमा गर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाका अनुसार फोहोर व्यवस्थापनमा आवश्यक सुरक्षा प्रदान गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ । महानगरपालिकाको तर्फ गरिएको १६ बुँदे प्रतिबद्धता अक्षरंश पालना हुने पनि तिमिल्सिनाले बताए ।
स्थानीयमध्ये केहीले फोहोर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा हालेको मुद्दामा अदालतले आइतबार अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो । त्यसपछि महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो ।
प्रकाशित मिति २०८० साउन २३ गते मंगलबार ०७:५१




