काठमाडौं
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन् ।
बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको बताए ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन जनताको चिकित्सा शिक्षामा पहुँच वृद्धि गर्न र शुल्क नियन्त्रणका गर्नका लागि आएको बताए ।
‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन आएको छ, यो किन र यसको मक्सद के हो ? यसको सर्वोपरी मक्सद गुणस्तर कायम गर्न हो । दोस्रो सर्वसाधारण जनताको चिकित्सा शिक्षामा पहुँच भएन, पहुँच वृद्धि गर्ने हो र तेस्रो शुल्क नियन्त्रणमा आउनुपर्छ भनेर हो’, उनले भने ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले ब्याचलर र प्यारामेडिकलको हकमा अहिलेदेखि नै विवादरहित नीति बनाएर चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार तोक्नुपर्ने बताए । उनले आयोग र सिटिइभिटीको क्षेत्राधिकारमा विवाद हुँदै आइरहेको भन्दै त्यसका लागि आयोग र सिटिइभिटीले समन्वय बढाउनुपर्ने बताए ।
पौडेलले भने, ‘ब्याचलर र प्यारामेडिकलको हकमा अहिलेदेखि नै एउटा नीति बनाएर यो यो क्षेत्राधिकार सिटिइभिटी र यो क्षेत्राधिकार चिकित्सा शिक्षा आयोगको र आफ्नो आफ्नो क्षेत्राधिकारअनुसार काम गर्नेगरी क्वालिटी मेण्टेनलाई तलमाथि नहुनेगरी यो अहिलेको बेथितिलाई नियमन गर्नुपर्छ ।’
प्रकाशित मिति २०८० भदौ २१ गते बिहीबार ०२:३४




