पोखरा
पोखरा थियटरले बर्सेनि आयोजना गर्दै आइरहेको विद्यालयस्तरीय नाटक महोत्सवको पाँचौैं संस्करणमा आज दोस्रो दिन सरुभक्त लिखित भ…भ…भ…भ…भूत नाटक मञ्चन हुँदैन ।
नवदीप इंग्लिस बोर्डिङ स्कुल, अमरसिंहका विद्यार्थीले उक्त नाटक प्रस्तुत गर्न लागेका हुन् ।
बाल मनोविज्ञानमा आधारित उक्त नाटक दिप्सना विश्वकर्माले निर्देशन गरेकी छन् । यो नाटकमा बालबालिकामा देखा पर्ने डर र प्रभावबारे उठान गरिएको छ ।
‘यस नाटकबाट भ्रम कसरी सिर्जना हुन्छ र अन्त्यका लागि केके गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ,’ निर्देशक दिप्सनाले भनेकी छन् ।
नाटकमा बालबालिकाको हिमाली भेगतिरकोे रमाइलो यात्रा र त्यसक्रममा मनमा उत्पन्न हुने भूतसम्बन्धी मनोवैज्ञानिक त्रासलाई देखाउन खोजिएको छ ।
नाटकमा सोभिया खातुन, सुष्टि अधिकारी, अनुस्का गुरुङ, लेबिस्का परियार, स्वेच्छा परियार, रियाना सुनार, रिया गुरुङ, शिवानी थापा, निमृता गुरुङ, ममता गुरुङ, रिद्धि गुरुङ, गृष्मा बुढाथोकी, सुशान्त गुरुङ, सुप्रिया शेर्पा, सुविक्षा गुरुङ, सलिसा गुरुङ र श्ेवता गुरुङले अभिनय गरेका छन् ।
महोत्सवको पहिलो दिन भीमनिधि तिवारीको नाटक शिलान्यास देखाइएको थियो । हिजोदेखि सुरु भएको महोत्सव असोज १२ गतेसम्म चल्नेछ ।
महोत्सवअवधिभर पोखराका १४ र काठमाडौंको एउटा आमन्त्रित नाटक गरी १५ वटा नाटक मञ्चन गरिने महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।
प्रकाशित मिति २०८० भदौ २८ गते बिहीबार ०१:०७




