पोखरा
सरकारले संसद सचिवायलमा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलनमा केन्द्रित भएपछि विद्यार्थीको पठन पाठन प्रभावित भएको छ । केन्द्र सरकारलाई दबाब दिन देशभरका शिक्षकहरु काठमाडौंमा पुगेर आन्दोलनमा सहभागी भएका छन् ।
हिजो काठमाडौंको माइतघर लगायतको क्षेत्रमा आन्दोलन गरेका शिक्षकहरुले आजदेखि थप कार्यक्रम गर्ने बताएका छन् । शिक्षक आन्दोलनमा लागेपछि २७ हजार बढी सामुदायिक विद्यालयका करिब ५४ लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । शिक्षकको आन्दोलनका कारण आज देशभरका सामुदायिक विद्यायलमा पठन पठान रोकिने भएको छ ।
विधेयकको परिच्छेद–७ मा शिक्षकको सरुवा तथा बढुवाको अधिकार पालिकालाई दिइने प्रावधानमा शिक्षकहरुको विमति रहेको छ । उनीहरुले यो अधिकार जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने माग राखेका छन् ।
देशभर २७ हजार तीन सय ४३ वटा सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी १ लाख ५७ हजार ३ सय ५४ जना शिक्षक कार्यरत छन् ।
प्रकाशित मिति २०८० असोज ४ गते बिहीबार ०८:२२