काठमाडौं
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने चर्चित ठगी प्रकरण मुद्दाको आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।
मुद्दाको फैसला नहुँदासम्म मुख्य अभियुक्तहरूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध १६ जना र धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय उच्चमा गएको हो । पटक–पटक पेसीमा चढेर पनि उच्च अदालतमा यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन्। खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।
यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो । अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएकोे छ ।
प्रकाशित मिति २०८० मंसिर ५ गते मंगलबार ०८:२०



