पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला भारतले उपहारमा दिएको ७ मुर्रा राँगा पोखरा आइपुगेको छ । भारतले १५ मुर्रा राँगा दिएको थियो ।
पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राती आइपुगेको हो । ५ वटा लहान र ३ वटा नेपागञ्जको राष्ट्रिय पशु प्रजनन कार्यालयको भागमा परेको छ ।
पोखरा आइपुगेका राँगालाई क्वारेन्टिनमा राखेको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डेयले बताए । ‘कम्तिमा पनि २१ दिन क्वारेन्टिन राख्छौं । २÷३ दिन यहाँको वातावरणमा भिज्नै लाग्छ, नयाँ गोठ भयो नि त । त्यहाँको खानपान र यहाँको लगभग मिलेकाले एडजस्ट भइसकेका छन्’, उनले भने ।
छुट्टाछुट्टै कोठामा राखेको उनले जानकारी दिए । क्वारेन्टिन पास भएपछि वीर्य संकलन केन्द्रमा लैजाने उनको भनाइ छ । वीर्य संकलनका लागि छुट्टै गोठ रहेको उनले बताए ।
डा. पाण्डेयका अनुुसार पुसबाट ती मुर्रा राँगालाई वीर्य संकलनका लागि प्रशिक्षण हुनेछ । ‘प्रशिक्षण पास गरेपछि वीर्य प्रयोगशालामा परीक्षण गरिन्छ । प्रयोगशालामा पनि सबै प्यारामिटर पास गरेपछि बल्ल वीर्य संकलन भएर स्टोर हुन्छ’, उनले भने । त्यसपछि बल्ल कृत्रिम गर्भाधानका लागि किसानले प्राप्त गर्नेछन् ।
गत वर्ष प्रजनन् केन्द्रले ६ लाख १३ हजार डोज वीर्य उत्पादन गरेको थियो । पशु वस्तुमा कृत्रिम गर्भाधान गर्न विर्य संकलनका लागि यस अगाडि नै यहाँ राँगा र साँढे ६० वटा छन् । ४० वटाबाट वीर्य संकलन गरेर किसानको गोठमा पु¥याइन्छ ।
प्रकाशित मिति २०८० मंसिर ९ गते शनिबार १२:३१




