एउटा खुल्याे भन्छ, अर्काे हाल सकिन्न भन्छ
पाेखरा । नेपाल सरकार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतीपत्रकाे अनलाइन फाराम सम्वन्धी एक सूचना जारी गरेर सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको उल्लेख गर्याे । सूचनामा चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला हुने उल्लेख थियाे । जसका कारण काेराेना महामारीपछि नयाँ लाइसेन्स कहिले खुल्छ भनेर बसेका मानिसहरूमा एउटा आशाकाे सञ्चार भयाे ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी लाइसेन्स खाेल्ने बारेमा पहिले जारी गरेकाे सूचना

आम मानिसहरूकाे सहजता र सूचना पाउने हक सुनिश्चित गर्दै विभागले सातै वटा प्रदेशका सूचना अधिकारीकाे सम्पर्क नम्बरसमेत सूचनामै उल्लेख गरेकाे थियाे । तर, त्यसकाे केहि दिनपछि भाैतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशले फेरि अर्काे सूचना जारी गर्दै सूचना अधिकारीलाइ अत्याधिक फाेन आएकाे तथा केन्द्रले समन्वय गरेर सम्वन्धित प्रदेशकाे माग बमाेजिम हुने भनिसकेकाे अवस्थामा फेरि प्रदेशले केन्द्रसंगै समन्वय गरिरहेकाे र निकट समयमा नै ठाेस निर्णय गरेर मन्त्रालयकाे वेवसाइड तथा फेसवुक मार्फत थप जानकारी दिइने उल्लेख गरेकाे छ ।
भाैतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशले हाल समन्वय भइरहेकाे भनेर पछि जारी गरेका अर्काे सूचना

यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने छ भन्ने व्यहाेराका साथ विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गरिसकेकाे अवस्थामा अत्याधिक फाेन आएकाे भन्दै अर्काे जानकारी दिइने उल्लेख गरेर मन्त्रालयकाे केन्द्र तथा प्रदेशले कटाकेटीपना प्रस्तुत गरेकाे छ ।
नयाँ लाइसेन्सकाे प्रकृयामा विभाग जान तयारी नपुगकाे हाे भने केन्द्रकाे विभागले अघिल्लाे नाेटिस किन सार्वजनिक गर्याे ? तयारी अवस्थामा नै हाे भने प्रदेशले फेरि किन केन्द्रीय विभागसंगै थप समन्वय जरूरी रहेकाे उल्लेख गर्याे ? के सम्वन्धित मन्त्रालयकाे केन्द्र र प्रदेशकाे विचमा समन्वय राम्राे छैन ? जस्ता सवालहरू यी दुइवटा नाेटिसले पैदा गरेकाे छ ।
मुलुकमा काेराेना महामारीकै विच विभिन्न पक्षका अनेकाै जुलुस निस्किएर सडक तताइरहेकै छन् । राज्य काेराेना नियन्त्रणमा असफल भइसकेकाे छ । जीम तथा म्युजिकल रेस्टुरेन्टहरू चलिरहेकै छन् । यस्ताे बेलामा काम गरेर खानुपर्ने वा खानखाेज्ने मानिसहरूकाे अत्यावश्यक चासाेकाे सवारी लाइसेन्सकाे नयाँ प्रकृया खाेल्न किन ढिलाइ भइरहेकाे छ ?
प्रकाशित मिति २०७७ मंसिर २२ गते सोमबार ०८:५४




