पोखरा
पोखरा १४ चाउथेस्थित अनुपमटोलमा रहेको पोखरा पब्लिक स्कुलको २९ औं स्थापना दिवसको अवसरमा वृहत शैक्षिक प्रदर्शनी गरिएको छ । विद्यालयले स्थापना दिवस आज मनाउँदै छ भने हिजो बृहत शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका सामग्रीहरू राखिएको छ । प्रर्दशनीको पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख विश्वराज अधिकारीले मंगलबार उद्घाटन गरे । प्रदर्शनीमा राखिएका शैक्षिक सामग्रीको अवलोकन गरी जानकारी लिएका उनले विद्यार्थीको सिर्जनाको तारिफ गरेका थिए ।

विद्यार्थीद्धारा निर्मित विज्ञान, गणित, सामाजिक, कम्प्युटर, नेपाली लगायत विभिन्न विषय अन्तर्गतका शैक्षिक सामग्रीहरू प्रदर्शनको कार्यक्रमले उनीहरुको सिर्जनात्मक क्षमता विकास गराउन प्रदर्शनी गरिएको विद्यालयका संस्थापक तथा प्राचार्य कृष्ण केसीले बताए । कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीले एक महिनाको अवधि लगाएर निर्माण गरिएका सामग्रीहरुलाई आकर्षक ढंगले सजावट गरेर प्रदर्शनीमा राखिएको हो । निर्माण कार्यमा सम्लग्न भएका विद्यार्थीले अवलोकनकर्तालाई त्यो सामाग्रीको बारेमा विस्तृत जानकारी समेत दिने गरेका छन् ।

आफ्ना बाबुनानीले निर्माण गरेका सामाग्रीको अवलोकन गर्न र ती सामाग्रीका बारेमा बुझ्ने मौका पाउँदा अभिभावक उत्साहित बने। प्रदर्शनीको अवलोकन गर्न सो विद्यालयमा अध्ययनरत विद्यार्थी र तीनका अभिभावकका अलावा पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी समेत पुगेका थिए । विद्यालयले वार्षिकउत्सवको अवसरमा दुई दिने कार्यक्रमको आयोजना गरेका केसीले बताए । शैक्षिक प्रदर्शनीले विद्यार्थीली हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न समेत मद्दत गर्ने उनको भनाइ छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसमा आज २०७९ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका एक जना विद्यार्थीलाई पच्चिस हजार रुपैयाँ नगद र चाँदीको पदकले सम्मान गर्ने, सो परीक्षा र कक्षा १२ एस.एल.सी परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू, कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थी, उत्कृष्ट शिक्षक लगायतलाई सम्मान गरिने प्राचार्य केसीले बताए । बुधबारको कार्यक्रममा लोकनृत्य, प्रत्यक्ष गायन, सांस्कृतिक भेषभूषा लगायत आकर्षणको रुपमा रहने विद्यालयका संगीत शिक्षक सुनील थापाले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तप्रसाद पराजुलीलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली विषयका शिक्षक बुद्धिसागर त्रिपाठीले गरेका थिए । नर्सरी देखि १२ कक्षा सम्मको पढाइ हुने विद्यालयमा १ हजार १ सय ३२ जना विद्यार्र्थीे अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति २०८० पुस ११ गते बुधबार ०७:५८




