२०८३ कात्तिक ११ गते मंगलबार

गण्डकी विश्वविद्यालयमा कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी

गण्डकी विश्वविद्यालयमा कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २३ गते सोमबार ०२:११

गण्डकी विश्वविद्यालय (जीयू) मा खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआइटी), फार्मेसी (बीफर्मा), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल (बीएलएलबी) विषयमा पढाइ हुँदै आएको छ ।

गण्डकी विश्वविद्यालयले चाँडै नै कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी थालेको छ ।

विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सिनाले २ वटा संकायको डिन नियुक्तिका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन् ।

विश्वविद्यालयले कार्यक्रमलाई आधार बनाएर त्यहाँ पढाइ हुने सबै संकायको एउटै डिन नियुक्त गरेको थियो । हाल विश्वविद्यालयमा पढाइ हुने सबै विषयको डिनको भूमिका डा कपिल अधिकारीले निभाइरहेका छन् ।

फरक विषयलाई पनि एउटै संकायमा राखेर पढाउँदा विद्यार्थीको प्रमाणपत्र नै अवैधानिक हुनेमात्रै नभएर अन्य विश्वविद्यालयले समकक्षताको मान्यता नै नदिने जोखिम बढेको थियो । विषयगत डिन नहुँदा विश्वविद्यालयले त्यहाँ पढाइ हुने बीएसएम, बीबीए र बीएएलएलबीलाई पनि ‘विज्ञान तथा प्रविधि’ संकायमै राखेर पढाउँदै आइरहेको छ ।

विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सिनाले तत्काललाई कानुन र व्यवस्थापनको डिन नियुक्ति प्रक्रिया सुरु गर्न प्रशासनबाट स्वीकृत भइसकेको जानकारी दिए । उनका अनुसार उक्त निर्णय विश्वविद्यालयको न्यासिक परिषदमा पुगिसकेको छ ।

‘हामीलेमात्रै भनेर पनि हुँदैन । हामीभन्दा माथि १७ सदस्यीय न्यासिक परिषद् हुन्छ । त्यसले निर्णय गरेपछिमात्रै डिन नियुक्त हुने हो’, तिमिल्सिनाले भने, ‘प्रक्रिया केही लामो होला तर, विद्यार्थीहरु ग्राजुएट हुँदासम्म आफ्नै डिनबाट प्रमाणपत्र पाउँछन् ।’

न्यासिक परिषदमा विश्वविद्यालयका कुलपति, शिक्षा क्षेत्र हेर्ने प्रदेश सरकारको मन्त्रालयका प्रदेश सचिवसहित विभिन्न क्षेत्रका बौद्धिक तथा प्राज्ञिक व्यक्तित्व १५ जना गरी १७ जना सदस्य रहन सक्ने गण्डकी विश्वविद्यालय ऐन २०७६ ले व्यवस्था गरेको छ ।

उक्त ऐनको परिच्छेद ४ को बुँदा ९ (ञ) र (ठ)ले विश्वविद्यालयको आवश्यक संकाय तथा शिक्षण संस्थासम्बन्धी व्यवस्था उल्लेख छ ।

तिमिल्सिनाले विश्वविद्यालयको स्रोत र साधनको सीमितताले एकैचोटि सबै विषयको डिन नियुक्त गर्न नसकिएको जानकारी दिए ।

‘भर्खरै खुलेको विश्वविद्यालय हो । हामीले पहिले कार्यक्रम ल्याएर त्यसलाई बल्ल संकायमा लैजादैछौं । सुरुमा त श्रोतको अभावले नै सबै डिन हायर गर्न नसकिएको हो’, उनले भने, ‘अब न्यासिक समितिबाट पारित भएपछि यो समस्या पनि हट्छ ।’

गण्डकी विश्वविद्यालय (जीयू) मा खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआइटी), फार्मेसी (बीफर्मा), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल (बीएलएलबी) विषयमा पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयमा अहिले ४७५ जना विद्यार्थी अध्ययनरत छन् ।

गण्डकी विश्वविद्यालय प्रदेशको आफ्नै विश्वविद्यालय हो ।

सातै प्रदेशभरिमा गण्डकी प्रदेशले सबैभन्दा पहिले विश्वविद्यालय स्थापना गरेको थियो ।

प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक २०७६ पारित भएर विश्वविद्यालय स्थापना भएको थियो ।

प्रकाशित मिति २०८० पुस २३ गते सोमबार ०२:११
हजुरको प्रतिक्रिया