बागलुङ
बागलुङ बजारका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्ड विपरित स्कुल बस चलाउँदै आएका छन् ।
मापदण्डविपरीत स्कुल बस चलाउँदा बालबालिकाले हैरानी खेप्दै आएका छन् ।
बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ ।
‘स्कुल बस निर्देशिका २०७४’ ल्याएको ५ वर्ष बितिसक्दा पनि बागलुङमा कार्यान्वयन हुन सकेको छैन ।
मुख्य चोक र घुम्तीहरुमा रोकेर बालबालिका चढाउने गर्छन् । जसले गर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ ।
बस सञ्चालक विद्यालयले निर्देशिकाका सामान्य नियम पनि मान्दैनन् ।
बागलुङमा ५९ निजी विद्यालयमध्ये अधिकांशमा विद्यालय बस छन् । तर, कसैले पनि निर्देशिका पालना गरेको पाइँदैन ।
जसले ट्राफिक व्यवस्थालाई भद्रगोल बनाइदिएको छ । बागलुङ बजारमा मात्रै दैनिक १५ वटा स्कुल बस सञ्चालन हुँदै आएका छन् ।
नियामक निकाय मूकदर्शक !
मापदण्डविपरीत एउटै बसमा कोचाकोच विद्यार्थी बोकेर स्कुल बसहरु हिँड्दासमेत नियामक निकाय मौन देखिन्छ ।
नियम कार्यान्वयन गराउने प्रहरी र प्रशासन मुकदर्शक छन् ।
जिल्ला ट्राफिक कार्यालय बागलुङले विद्यालयहरुले बस सञ्चालन गर्दा ध्यान दिनुपर्ने बताए ।
उनले बस सञ्चालक स्कुलहरुले निश्चित ठाउँ तोक्ने र सोही ठाउँमा मात्रै विद्यार्थीहरुलाई चढाउने र झार्ने गर्दा दुर्घटना न्यूनीकरण हुने बताए ।
‘यसले बजारमा दुर्घटनाको जोखिम कम हुने र ट्राफिक व्यवस्थापनमा पनि सहज हुन्छ,’ उनले भने ।
नगरपालिकासँग सहकार्य गरेर बसलाई जहाँ पायो त्यही रोक्न नदिन ठाउँठाउँमा बस बिसौनी तोक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ प्रमुख खड्काले बताए ।
हरेक सवारी साधनमा आपतकालीन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी चलाउनुपर्ने, प्राथमिक उपचार बक्स र अग्नि नियन्त्रण उपकरण राखिनुपर्ने नियम छ ।
निर्देशिकाअनुसार हरेक गाडीले फोहोर फाल्ने बाल्टी भित्रै राख्नुपर्ने, सवारी जाँचपास प्रमाणपत्रसमेत साथैमा राखिनुपर्ने उल्लेख भए पनि यहाँ त्यस्तो पाइँदैन ।
बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले अहिलेसम्म कुनै पनि विद्यालयले बस सञ्चालन गर्न पालिकाबाट अनुमति नलिएको बताए ।
उनले नगरपालिकाले अब केही दिनमा स्कुल बस सञ्चालन मापदण्ड तयार गरेर ल्याउन थालेको जानकारी दिए ।
उनले भने, ‘मापदण्ड आएपछि त्यसको अवज्ञा गर्ने विद्याललाई कारबाही गरिन्छ ।’
प्रकाशित मिति २०८० माघ ८ गते सोमबार ०२:५३




